काठमाडौं- रमेशकुमार सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवमा दोस्रो कार्यकाल सम्हालेको ६ दिन भयो। अहिले राखेपमा बाँकी कामसँगै उनको समय सम्मान, स्वागत र बधाईमा आएको खेल संघहरुको निमन्त्रणा स्वीकार गर्नमा पनि बितिरहेको छ।
सोमबार मात्रै सदस्यसचिव सिलवाल दुई वटा त्यस्तै कार्यक्रममा सहभागी भए। नेपाल भलिबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई औपचारिक कार्यक्रम र केही तामझामसहित नै बधाई दियो।
संघहरूले सदस्यसचिवको सम्मान, बधाई र स्वागत गर्नु नराम्रो होइन नै। तर पनि अहिलेको समय त्यो सहज होइन कि! कोरोना माहामारीको डर बढिरहँदा आफ्नै सदस्यसचिवको स्वागत र बधाई औपचारिक कार्यक्रम र सामूहिक भाषणबिना पनि हुन सक्छ कि।
सदस्यसचिवले गएको बुधबार युवा तथा खेलकुद मन्त्रालयमा सपथ ग्रहण गर्दा र त्यसलगत्तै राखेपमा पद सम्हालेपछि नै आफ्ना धेरै कुराहरू बताइसकेकै थिए। त्यसमाथि सदस्यसचिव आफैले भनेजस्तो उनी नयाँ होइनन्। १३औँ दक्षिण एसियाली खेलकुदको सफल आयोजना हुँदा सदस्यसचिव उनै थिए। उनको पहिलो कार्यकालको झन्डै एक वर्ष सागको पदक सफलताले सफल मानियो।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ को कार्यान्वयनसँगै सदस्यसचिवको नियुक्तिमा प्रक्रिया अहिले केही भिन्न देखियो। त्यसमा नयाँ ऐनको आगमनसँगै मन्त्रालय हाबी हुने र सदस्यसचिवको भूमिका कम हुने बहसहरु भइरहेकै छन्। त्यो भूमिका बुझेरै सिलवालले सदस्य-सचिवमा आवेदन दिएको हुनुपर्छ।
तर, सम्मान र बधाईका शृंखलामा सदस्यसचिव सिलवालले सोमबार बोलेको सुन्ने हो भने उनी नयाँ ऐनबारे पूर्ण जानकार छैनन् कि भन्ने शंका देखिन्छ। नयाँ ऐनअनुसार राखेपमा ३७ सदस्यीय सञ्चालक परिषद् र त्यसबाट नै ७ जना रहने गरी कार्यकारी समितिको व्यवस्था छ।
तर सोमबार एन्फाले गरेको बधाई कार्यक्रममा सिलवालले स्पष्ट रुपमा भने, ‘राखेपमा सदस्य संख्या ३९ भए पनि मैले सरसर्ती हेर्दा २० र १९ हेर्छु। २० जना पदेन रुपमा आउने, १९ जना मन्त्रीपरिषद्बाट चुनिने एउटा स्थिति रहेको छ। यो टिम वर्कले मिलेर काम गर्छौं।’
उनले सामूहिक रुपमा मिलेर काम गर्ने राम्रो कुरा बोलेको भए पनि ऐनको परिच्छेद २ को दफा ३ मा उल्लेख भएको ३७ जनाको सदस्य संख्यालाई विचार नगरी ३९ भनेर ब्याख्यासमेत गरिदिए। त्यसमाथि १९ जना मन्त्रीपरिषदबाट चुनिने भनेर अर्को गल्ती गरे। ऐनअनुसार सरकारले नियुक्त गर्ने संख्या १९ पनि होइन। मन्त्रीपरिषदबाट ९ जना र परिषदका अध्यक्ष रहेका खेलकुद मन्त्रीले १२ जना सदस्य नियुक्त गर्नेछन्।
सदस्यसचिवले गल्ती बुझेका हुन् कि झुक्किएका हुन् भन्ने बुझ्न उनीसँग कुराकानी गर्दा उनी स्पष्ट नभएकै देखियो।
म एउटा कुरामा कन्फ्युजमा परें। राखेप सदस्यहरु त ३७ जना होइन र?
- हो।
तपाईंले अघि बिर्सेर भन्नु भयो कि ३९ राखेप सदस्य भन्नु भयो।
- होइन। सबै गर्दा ३९ हुन्छ। एघार नौं २० भनेसी ३९ पुग्छ।
मन्त्री अध्यक्ष र उपाध्यक्षसहित सबै गर्दा मैले ३७ जना मात्रै पुर्याए। कहाँ नेर गल्ती गरेँ त?
- पख्नुहोस् है म गन्दैछु। १, २, ३ अँ ४.....३१, ६ अँ ३७ ल। ३७ मात्र हो। तपाईं ठिकै हो।
तपाईंको त्यहाँ अलिक फरक आएछ...
-के रहेछ भन्दा पुरानो प्रस्तावितमा ३९ थियो। त्यही अनुसारले म गएँ। अहिले गन्दा ३७ पुग्यो।
सदस्यसचिवले अहिले बोलिरहेका प्राय कुराहरु एकै छन्। यसैले उनले हरेक ठाउँमा कुराहरु दोहोर्याइरहनुभन्दा अन्य काममा ध्यान दिँदा नै उनको छवि अझ राम्रो हुनेछ। जब कि उनले नेपाली फुटबलको अवस्थासँगै नौबिसे–नागढुंगा सुरुङ मार्गलाई जोडेरसमेत गफ दिन भ्याए।
सदस्यसचिवले के भने? उनकै शब्दमा-
सर्वप्रथम त म एन्फालाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँहरुले सम्मान कार्यक्रम भन्दा अलिक कस्तो कस्तो लागेको थियो। तर त्यो पढिसकेपछि सम्मान कार्यक्रम होइन रहेछ। बधाई पत्र राखेपछि चाहिँ म खुशी भएँ।
मेरो एउटा भनाइ छ, हामी जहाँ पनि सम्मान गरिहाल्छौं। कोही ठाउँमा सांसद जित्यो सम्मान, मेयर जित्यो सम्मान। सम्मान गर्न योग्य छ कि छैन हेर्नु त पर्ला नि। होइन र? हिजो सम्मान गरेको मान्छे, सांसद पदबाट निष्कासन हुनु पर्यो भने, अथवा मेयर अथवा अन्य पदबाट निस्किनु पर्यो भने त, सम्मान त खेलकुदमा एन्टी डोपिङको केस जस्तो हुँदैन। स्वर्ण पदक जितेपछि पछि फिर्ता गरौंला भनेर सम्मान पत्र फिर्ता गर्ने चलन हुँदैन। तर त्यहाँ बधाई पत्र रहेछ। खुशी नै लागेको छ।
म पुरानै हुँ। नवनियुक्त पनि भन्नु भएको रहेछ। तर मेरो चाहिँ पुनर्नियुक्ति हो। एक वर्ष काम गरेको चार वर्षको निम्ति भनेर फेरि के हुन्छ के हुन्छ भनेर तपाईंहरुलाई दोधारमा पारेको।
भर्खरै आउँदा शिशिर जीले तपाईंलाई बधाई छ मलाई पनि बधाई छ भन्नु भयो। मैले के सम्बन्धमा बधाई छ भने। उहाँले मैले त बाजी जितेँ। तपाईं आउनु हुन्छ र आउनु हुन्न भन्ने पक्षमा बाजी थियो। मैले तपाईं फर्केर आउनु हुन्छ भन्ने पक्षमा बाजी जितेँ। त्यसैले मलाई पनि बधाई दिनुहोस् भन्नु भयो, उहाँलाई बधाई दिएँ।
म धेरै भन्न चाहन्न। नेपाली खेलकुद क्षेत्रमा यो चार वर्षको समयमा खेलकुद भनेकै टिम वर्कको कुरा हो। झन फुटबल भनेको टिम वर्क गेम हो। ११ को कुरा छाडौं एक जना मात्रै कमजोर भयो भने पनि नतिजा अर्को टिमको पक्षमा जान्छ। हामीले बुझेका छौं।
राखेपमा सदस्य संख्या ३९ भए पनि मैले सरसर्ती हेर्दा २० र १९ हेर्छु। २० जना पदेन रुपमा आउने, १९ जना मन्त्रीपरिषद्बाट चुनिने एउटा स्थिति रहेको छ। यो टिम वर्कले मिलेर काम गर्छौं। सिंगो नेपालको खेलकुद जगतको सम्बृृद्धिको निम्ति, विकासको निम्ति योजना ल्याएर त्यो योजनालाई कार्यान्वयनमा ल्याउँछौं।
पहिलो भनेको हाम्रो भौतिक संरचनाको विकास हो। खेल्ने ठाउँ नै छैन भने खेलाडीको उत्पादन हुँदैन। पहिला खेल्ने ठाउँ चाहियो। दोस्रो खेल्ने ठाउँ भएर मात्रै हुँदैन, स्तरीय चाहियो। त्यसपछि खेल्ने मान्छे चाहियो। खेलाउने मान्छे चाहियो। त्यसलाई ब्यवस्थित गर्न संघ चाहियो। खेल्नेको प्रतिभा कस्तो भएछ भनेर प्रतियोगिता चाहियो।
स्थानीय प्रतियोगिताले नपुगेपछि राष्ट्रिय प्रतियोगिता चाहियो। राष्ट्रिय प्रतियोगिताले नपुगेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता चाहियो। खेलक्षेत्रमा पुगेपछि योगदान पुर्याएका ब्यक्तित्वलाई सम्मान चाहियो। खेलको निम्ति एकपछि अर्को गर्दै राज्यले मात्रै गरेर पुग्दैन। तीन तहका सरकारले गरेर मात्रै पनि पुग्दैन। संघले पनि गरेर पुग्दैन। सहयोगी हात चाहियो। अथवा स्पोन्सर चाहियो।
यो सबैको तालमेल हुँदाहुँदै पनि दर्शकबिनाको खेल अहिले हामीले टिभीमा हेरेको खेल जस्तो हुन्छ।
खेलाडीहरु ठूला ठूला छन्, तर म यसो गेम हेर्छु तर मलाई चार्म नै छैन। सायद तपाईंहरुलाई कस्तो छ मलाई थाहा छैन। दर्शकको भूमिका पनि खेलमा ठूलो हुन्छ। त्यो सबै हुँदा हुँदै पनि मिडियाले प्रसारण गरेन भने काम छैन। हामी सबैलाई संयोजन गरेर अगाडि बढाउने छौं।
फुटबलको सन्दर्भमा मैले केही केही कुराहरु फुटबलको साथीहरुसँग बसेर कुरा गरेको छु। अब हामीले ग्रास रुटदेखि नै कार्यक्रम गर्नुपर्छ। प्रतिभाको खोजी गर्नु पर्यो। ट्यालेन्ट हन्ट गर्नु पर्यो। त्यो कागजी संघहरु होइनन्, जिल्लाका संघहरु पनि। साच्चिकै कामकाजी संघहरु र साच्चिकै प्रतियोगिताहरु हुनु पर्यो। कागजी प्रतियोगिताले नतिजा दिँदैन। र धेरै ठाउँमा हामी पूर्वाधारहरुमा चुकेका छौं। प्रतियोगिता धेरै छ। त्यो प्रतियोगिता खेल्ने ठाउँ चाहिँ स्तरीय छैन कि भन्ने भएको छ। अब प्रतियोगिताको स्तर हुनुपर्छ। प्रतियोगिताको मापदन्ड पनि बनाउनु पर्छ। म्याच फिक्सिङ नहोस् भनेर ध्यान दिनु पर्छ।
अस्ति धादिङ जाँदा मैले एक जना भाइलाई सोधेँ– तपाईं आजभोलि फुटबल खेल्दै हुनुहुन्छ कि छोड्नु भयो? दाइ छोडिदिएँ भन्नु भयो। किन छोडेको भने? उहाँले भन्नुभयो– अहिलेसम्म मैले फुटबल खेलेर कुटाई नखाएको कुनै प्रतियोगिता छैन। अब अलिकति उमेर ढल्किँदै गयो कति कुट्नु, कति कुटाइ खानु भनेर छोडिदिएँ भन्नुभयो। कतिबेलाको रिस छ त्यो रिस पोख्ने चाहिँ फुटबल रहेछ। रिस पोख्ने हब बन्नु भएन।
अहिले एएफसी र फिफाको निमयले पनि ए डिभिजन क्लबको आफ्नै मैदान हुनुपर्छ। सायद २०२० मा एसियन कप नहोला। सायद भनेको छु। त्यो सम्भव नहोला। २०२१ को खेलबाट हामीले बनाउनु पर्छ। म ए डिभिजन लिगका साथीहरुलाई अनुरोध गर्छु। तपाईहरुसँग यहाँ क्लब छ भने र, यदि त्यो क्लबसँग मैदान छैन भने तपाईंहरुलाई यहाँबाट नजिक खेल्ने मैदान उपलब्ध गराउँछु। त्यो गर्ने भनेको एन्फासँग मिलेर नै हो। महासचिव इन्द्रमानसँग संकटा क्लबको मैदान हेर्न गइयो, उहाँहरुले राम्रो बनाउनु भयो। चागुनारायण अर्को क्लबले बनाउन आट्नु भएको रहेछ।
अस्ति मैले ६ वटा क्लबको साथीलाई बोकेर धादिङ गएँ। त्यहाँ चाहिँ उहाँहरुले कल्पना नै गर्नु भएको थिएन। जब त्यहाँ हेरेपछि यहाँ पनि यति राम्रो राम्रो मैदान रैछ हैँ भन्नुभयो। काठमाडौंबाट २१ किलोमिटरबाट ७० किलोमिटरको फरकमा हेर्यौं। अहिले हामी नाकढुंगाको जाम सम्झिरहेका छौं। तीन वर्षपछि जब सुरुङमार्ग बन्छ त्यो जाम साम हुँदैन। यहाँबाट बालाजु जानुभन्दा धादिङको मैदान जानु नजिक पर्छ। समयको हिसाबले। फुटबलको विकास गर्ने हो भने त्यो केही पनि होइन। चाँगुनारायण पनि कहाँ नजिक छ र!
मैले मनाङ मस्र्याङ्दी क्लबका साथीहरुलाई पोखरा जानुहोस् भनेको छु। मनाङ पनि मस्र्याङ्दी पनि दुबै गण्डकी प्रदेशको ठाउँको नाम हो। यसो हुनेवित्तिकै लिग प्रतियोगिताहरुमा चार्म बढ्छ। लिग प्रतियोगितामा किन चार्म बढ्छ भने मैले लिग हेरेको छु। सबैभन्दा बढि दर्शक भएको बेला पनि हेरेको छु।
यदि पोखरामा गएर एउटा हुने हो भने पोखराले अपनत्व गर्छ। हाम्रो मनाङले जित्नु पर्छ भन्छ। एपिएफको मैदानमा एपिएफका मान्छे हुन्छन् भने विपक्षीका दर्शक पनि त्यतिकै हुन्छन्। आर्मीकोमा पनि त्यस्तै हुन्छ। त्यसैले यो कुराहरुमा हामीले ध्यान दिनुपर्छ। यसरी गर्दा ग्रास रुटको पनि विकास हुन्छ।
त्यसैले ए डिभिजन लिग खेल्ने क्लबका साथीहरुलाई म के भन्छु भने यो वर्ष एउटा पनि समाचार सुन्न नपरोस कि एन्फालाई एएफसीले कारबाही गर्यो। जरिवाना यति तिर्नु पर्ने। पोहोर यो मैले सुनेँ। हुन त यो बधाई तथा शुभकामना दिन लागेको हामीलाई नै गाली गर्यो नभन्नु होला। त्यो स्थितिबाट चाहिँ विकास गरौँ।
हामी मिलेर उपलब्धी निकालौं। पहिला पहिला विवाद धेरै सुनिथ्यो। तर म आएपछि खेलकुद परिषद र एन्फाबीच विवाद सायद सुन्नु परेको छैन। मैले सायद भनेको छु। यदाकदा गुनासोहरु होला। किन विवाद भएन भन्दा तपार्इंहरु फुटबलको विकासको निम्ति रहनु भएको छ। हामी समग्र खेलकुदको विकासको निम्ति रहेका छौं। एकले अर्कोलाई छिनाझम्टी गरेर होइन, एकले अर्कोलाई निषेध गरेर होइन, एक अर्काबीच मिलेर नै फुटबलको विकास गर्नुपर्छ। हामी फुटबलको विकासको निम्ति तत्पर हौं। म तपाईंहरुलाई अनुरोध गर्छु।
र भर्खर क्वारेन्टाइनमा खेलाडी साथीहरु बसिसक्नु भएको छ। अब छिट्टै नै दसैँतिहार अघि नै ३ वटा प्रतियोगिता सम्पन्न गर्न गइरहेका छौं। त्यो प्रतियोगिताले पनि नेपालमा फुटबलको माहोल कत्तिको बन्छ भन्ने कुराको निर्धारण हुन्छ।
त्यो प्रतियोगितामा हामीले राम्रो प्रदर्शन गर्न सक्यौँ भने तीनवटै खेलमा अन्तर्राष्ट्रिय रुपमै हामीलाई हेर्ने दृष्टिकोण फरक बन्छ। किनभने यो विश्वकप छनोट खेल हो। विश्वकप छनोट खेलको महत्व हुन्छ। हामीलाई फाइदा छ हाम्रै मैदान छ, आफ्नै दर्शक छन्।
अर्को नकारात्मक कुरा दबाबमा कत्तिको खेल्न सक्छौँ भन्ने पनि छ फेरि। कहिले काहिँ चाहिँ के हुँदो रहेछ भने स्वन्तत्र हुन्छ। मैले एउटा कुरा सोधें, हिजो पनि चर्चा भयो। एसियन गेम्समा टेबलटेनिसमा नेपालले विश्व च्याम्पियनलाई एक गेम हराएको रहेछ। त्यो एक गेम हराएपछि दिनभरी त्यो प्रशिक्षक र त्यहाँकाले नेपालले पनि एक गेम हराउने भनेर त्यहाँ चर्चा भएछ। नेपालीमा के क्षमता छ हामीमा के कमजोरी छ। विश्व च्याम्पियनलाई पनि एक गेम हराइदियो। आखिर गेम त उनीहरुले जित्यो तर एक गेमले पनि असर त पुर्याउँदो रहेछ नि।
पाकिस्तानको भलिबल सुपर पावरमा नेपालको राम्रो प्रदर्शन देखेपछि नेपालले के जादु गर्यो भन्ने भएछ। कहिले काहिँ दबाब नहुँदो रहेछ। अस्ट्रेलियासँग नेपालले जित्यो भने त त्यो महानायक नै भइहाल्यो। त्यो टिमसँग ५–० ले हारेको नेपाल १–० ले मात्रै हार्यो भने पनि सबैले सल्युट गर्छन्। कहिले काहिँ जितेर पनि सल्युट गर्दैनन्। कमजोर टिमलाई जितेर के काम त। कहिले काहिँ नाम चलेको टिमलाई जित्यौं भने त्यसको महत्व अर्को हुन्छ। बराबरी खेल्यौं भने पनि अर्थ रहन्छ।
भदौ १ देखि तयारी गर्नु पर्ने छ। यहिँको साथीले अभ्यास गराउँदै हुनुहुन्छ। मुख्य प्रशिक्षकलाई पनि छिटो डाक्नु होला। धेरै खेलाडी साथीहरु यो बीचमा कत्तिको शारीरिक रुपमा फिट हुनुहुन्छ। प्राविधिक रुपमा कत्तिको फिट हुनुहुन्छ। यो बेलामा हामीले नतिजा दिउँ।
आगामी दिनमा कुनै संघको नाम लिनु पर्यो भने एन्फा जस्तो संघ बनोस् भनेर आशिस दिने अवस्था आओस् भन्दै हाम्रो सिंगो टिमलाई जुन बधाई तथा शुभकामना दिनु भएको छ। त्यो हामी खेर जान दिने छैनौं। तपाईंहरुको चाहना र भावनालाई आत्मसाथ गर्नेछौं। सिंगो खेलकुदको विकासको निम्ति काम गर्नेछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।