काठमाडौं- लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए।
राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त भएका हुन्।
शुक्रबार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ४ जनाले अन्तर्वार्ता दिएका थिए। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको टोलीले भट्ट, लगानी विज्ञ डा सरोज कोइराला, विद्युत नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र पूर्वसहसचिव लक्ष्मिविलास कोइरालासँग अन्तर्वार्ता लिएको थियो।
सर्टलिस्टमा परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीले भने अन्तर्वार्ता नै दिएका थिएनन्।
छनौट समितिले ३ जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।