काठमाडौं-कुल जडित उत्पादन क्षमता १ सय २८ मेगावाट रहेको तमोर-मेवा जलविद्युत आयोजना ५ वर्षभित्र निर्माण गरिसक्ने गरी स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ।
ताप्लेजुङको मिक्काखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका भएर बग्ने मेवा खोलाको पानी फुङलिङ नगरपालिका र मिक्काखोला गाउँपालिका भएर बग्ने तमोर नदीमा मिसाई तमोर-मेवा जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो। नदी बहावमा आधारित यो आयोजना बनाउनका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने अन्तिम तयारी रहेको विद्युत विकास विभागले जनाएको छ।
स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विभागलाई बुझाईसकेको छ। विस्तृत आयोजना प्रतिवेदनअनुसार यो आयोजनाको डिजाइन बहाव १२९ दशमलव ५६ घनमिटर प्रतिसेकेण्ड र कुल हेड १२४ दशमलब ५ मिटर रहनेछ।
आयोजनाबाट वार्षिक सरदर ७१९ दशमलव ११ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। आयोजनाको दुई बाँधस्थलको मुख्य संरचनामध्ये एउटा संरचना मेवा खोलाको बायाँ किनारमा र अर्को संरचना तमोर नदीकाे बायाँ किनारमा रहनेछन्। विद्युत गृह भने तमोर नदीकाे बायाँ किनारामा राख्ने प्रस्ताव गरिएको छ।
मेवाखोलाको पानी तमोरमा पठाएर यो आयोजना बनाउन लागिएको हो। त्यसका लागि मेवाखोलामा ४५ मिटर लम्बाईको कंक्रिट ओभरफ्लो बाँध बनाईनेछ भने बाँधपछाडि ४ मिटर चौडाइ र साढे २ मिटर उचाइका साइड इन्टेकहरु राखिनेछन्। त्यस्तै करिब २९ मिटर लम्बाइ र ४ मिटर चौडाइ भएको नहर हुँदै ८० मिटर कुल लम्बाइ तथा ३ मिटर व्यास भएको हेडरेस पाईप राखिनेछ।
त्यसपछि २ हजार ६ सय १६ मिटर लम्बाइ भएको टनेल र १२० मिटर लम्बाइकाे पाइप राखी मेवा खोलाको पानी तमोर नदीमा पठाईनेछ। यो आयोजनाबाट २०८२ साल साउन १० गते विद्युत उत्पादन गरिसक्ने गरी प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।