एजेन्सी–दुई यात्रुले मास्क लगाउन अस्वीकार गर्दा सुरु भएको विवादपछि नेदरल्याण्डमा उडिरहेको विमानभित्रै कुटाकुट भएको छ।
नेदरल्याण्डको एम्स्टर्डमबाट स्पेनको इविजा टापुतर्फ गइरहेको केएलएमको विमानभित्रै कुटाकुट भएको हो। केएलएमले विमानमा मास्क अनिवार्य गरेको थियो। सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा शुक्रबार एम्स्टर्डमबाट विमान उड्नेबित्तिकै अंग्रेजी बोल्ने दुई यात्रुबीच झडप भएको देखिएको थियो।
कुटाकुट चलिरहँदा केही यात्रुले विमानमा बालबालिका पनि रहेको भन्दै झगडा रोक्न आग्रह गरेको भिडियोमा सुनिन्छ। भिडियोको अन्त्यमा उक्त यात्रुलाई भुइँमा सुताएर हतकडी लगाएको देख्न सकिन्छ।
पछि ती यात्रुलाई इबिजा विमानस्थलमा ओर्लिएपछि स्पेनी प्रहरीले पक्राउ गरेको थियो । विमान कम्पनीले दुई यात्रुले मास्क लगाउन आग्रह गर्दा अस्वीकार गरेको र अन्य यात्रुलाई दुव्र्यवहार गरेको जनाएको छ। मादक पदार्थ सेवन गरेका ती यात्रुले मास्क लगाउन अस्वीकार गरेको बताइएको छ।
केएलएमले आगामी ३१ अगस्टसम्म यात्रुलाई मास्क अनिवार्य गरेको छ। उसले मास्क नलगाउनेलाई विमानमा यात्रा गर्न अनुमति नभएको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।