काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायीलाई ७ दिनभित्र भ्याटमा दर्ता भइसक्न भनेको छ। निगमले आइतबार पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्र पठाउँदै भ्याटमा दर्ता भएर मात्रै ढुवानी व्यवसाय गर्न भनेको हो।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांक तथा ट्रकहरु अनिवार्य रुपमा भ्याटमा दर्ता भई कारोबार गर्दा भ्याट बिजक जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा रहेकोमा त्यसलाई कडाईका साथ पालना गर्न पनि निगमले भनेको छ। बागमती पेट्रोलियम डिलर्स एसोसियसनले साउन ४ गते निगमलाई पत्र पठाउँदै भ्याट बिजक जारी गर्न नसक्ने ढुवानीका साधनलाई पेट्रोलियम व्यवसायीले ढुवानी भाडा भुक्तानी गर्न नसकिने व्यहारोराको पत्र पठाएको थियो। त्यस्तै, भ्याट बिल जारी गर्न नसक्ने ढुवानीका साधनलाई पेट्रोलियम पदार्थको वितरण नगराइदिन भन्दै निगमलाई पत्राचार भएपछि निगमले यस्तो सूचना निकालेको हो।


साउन ४ गते बागमती पेट्रोलियम डिलर्स एसोसियसनले निगमलाई पत्र पठाउँदै ढुवानी भाडामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिसकेको र भ्याट बिल जारी नभएको ढुवानी भाडा व्यवसायीहरुले खर्च दावी गर्न नपाउने जनाएको छ। ‘अघिल्ला वर्षहरुमा निगमकै तर्फबाट प्रभावकारी रुपमा ढुवानी भाडामा लागेको भ्याट कार्यान्वयन नहुँदा पेट्रोलियम व्यवसायीलाई ठूलो आर्थिक भार पर्न गएकाले यसवर्ष सुरुदेखि नै भ्याट बिल जारी गर्न नसक्ने ढुवानीका साधनलाई पेट्रोलियम व्यवसायीहरुले ढुवानी भाडा भुक्तानी गर्न नसकिने व्यहोरा जानकारी गराइन्छ,’ एसोसियसनले निगमलाई पठाएको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।