एजेन्सी-अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ सर्वसाधारण मारिएका छन्। घटनामा परी अरु ७० जना घाइते भएको सरकारी अधिकारीले जनाएका छन्।
त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि झडपहरू भएका र राति अबेरमात्र लडाइँ शान्त भएको ती अधिकारीकाे भनाइ छ। 'अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,' उनले भने।
घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ।
भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन। अहिले उनीहरुले भिडन्त स्थगन गरे पनि कुनै पनि बेला फेरि आक्रमण गर्ने गरी तयारी अवस्थामा रहेको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।