एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन प्रयोग गर्न पुनः सुझाव दिएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले १४ दिनसम्म आफूले यो औषधि सेवन गरेको उल्लेख गर्दै यसले आफूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको बताए। ‘धेरै अध्ययन र जानकारीपछि मलाई लाग्यो कोरोनाको सुरुवाती चरणमा यो औषधि प्रभावकारी हुन्छ, यसको प्रयोगबाट कुनै नकारात्मक असर पर्दैन, नत्र भने यो यति लोकप्रिय हुँदैनथ्यो होला,’ उनले भने।
ट्रम्पको यो विवादास्पद अभिव्यक्तिको भिडियो पोस्ट गरेपछि उनका छोराको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि बन्द गरिएको छ।
यसअघि गत मार्चमा ट्रम्पले पहिलोपटक हाइड्रोक्सिक्लोरोक्विन कोरोनाको उपचारमा उपयोगी भएको बताएका थिए भने मे महिनामा पनि यो औषधिले आफ्नो उपचार गरेको बताएका थिए।
यद्यपि विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको यो औषधि कोरोनाको उपचारमा उपयोगी भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ। बरु, यसको प्रयोगबाट मुटुसम्बन्धी समस्या निम्तने जनाइएको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनले पनि कोरोना उपचारमा यो औषधि प्रयोगसम्बन्धी चेतावनी जारी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।