तेहरान- इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन्।
उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन्।
प्रवक्ता रबि कोरोना भाइरसबाट संक्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन्। उनीहरुले उनलाई संक्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन्।
इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोना भाइरसबाट दर्जनौं राजनीतिज्ञहरु संक्रमित भएका छन्।
सोमबारसम्म इरानमा कोरोना भाइरसबाट कुल संक्रमितको सङ्ख्या २ लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
त्यसैगरी कोरोना भाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्याङ्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।