काठमाडाैं- गायिका आस्था राउतले नेपाली गीत संगीत क्षेत्रमा आएको विकृतिप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। दर्शकले पनि विकृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै राउतले सामाजिक सञ्जालमा लेखेकी छन्।
पछिल्लो समय बिच्च बिच्चमा गीतबाट चर्चामा रहेका दुर्गेश थापाप्रति पनि उनले व्यंग्य गर्दै नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ भनि टिप्पणी गरेकी छन्। एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सिकार भएका गायक दुर्गेशप्रति पनि आस्थाले असन्तुष्टि जनाएकी छन्।
टेलिभिजन कार्यक्रममा गायक थापाले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए। साथै रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीतलाई उनले यम बरालको भनेर गायका थिए। दुर्गेशको यो स्तरको सांगीतिक चेतनामाथि आस्थाले प्रश्न उठाएकी हुन्।
उनले युट्युबबाट डलरका आउला तर संगीतको ज्ञान कहाँबाट छाउला भनि प्रश्न गरेकी छन्। उनले प्रविधिको अटो ट्युनले जो पनि गीत गाउने भएको भन्दै गीतहरु सुन्नै नसकिने भएको टिप्पणी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।