नयाँ दिल्ली (एजेन्सी)- बलिउड स्टार अनिल कपुर र माधुरी दीक्षितको अनस्क्रीन जोडी ती सीमित जोडीमा पर्छ, जसलाई प्रशंसकहरुले निकै रुचाउँछन्। ती प्रशंसकहरुका लागि खुसीको खबर छ, यो जोडी एक पटक फेरि पर्दामा देखिँदै छ।
पछिल्लो पटक फिल्म 'लज्जा' (२००१) मा सँगै देखिएका उनीहरु अब 'टोटल धमाल'मा देखिन लागेका हुन्। सुटिङ जारी रहेको फिल्मको फस्ट लुक समेत सार्वजनिक गरिएको छ।
फिल्मको निर्देशन इन्द्र कुमारले गर्दै छन्। हालै ट्विट गर्दै अनिल कपुरले लेखेका थिए, 'सुटिङको पहिलो दिन निकै राम्रो लाग्यो। टोटल धमालको सुटिङ सुरु भएको छ। माधुरी दीक्षित, इन्द्र कुमार र म २६ वर्षपछि एकसाथ काम गर्दै छौं। हाम्रो क्षमता 'बेटा' फिल्म गर्दाताकाकै जस्तो छ। यो यात्रा निकै रमाइलो हुनेवाला छ।'
हालै यस फिल्मको टाइटल ट्र्याक सुट गरिएको छ। यस क्रममा माधुरी र अनिलको जोडी उत्तिकै पूर्ण देखियो, जति दुई दशक अगाडि देखिन्थ्यो।
'टोटल धमाल'को बारेमा कुराकानी गर्दै निर्देशक इन्द्र कुमारले आफू निकै उत्साहित रहेको बताएका छन्। फिल्ममा अनिल कपुर र माधुरी पति-पत्नीको भूमिकामा देखिनेछन्। अनिल र माधुरीको जोडीसँगै अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, सञ्जय मिश्राको अभिनय रहने फिल्म यसै वर्षको डिसेम्बर ७ मा रिलिज हुनेछ।
अनिल र माधुरीले 'हिफाजत', 'तेजाब', 'परिंदा' 'राम लखन', 'किशन कन्हैया', 'बेटा', 'खेल', 'पुकार', 'दिल तेरा आशिक', 'घरवाली बाहरवाली' लगायत फिल्ममा स्क्रीन सेयर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।