काठमाडौं-अभिनेता भुवन केसी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालत पुगेका छन्। उनले शुक्रबार शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्। भुवनले १० करोड रूपैयाँ क्षतिपूर्ति माग गरेका छन्। साम्राज्ञीले आफ्नो छवीमा आँच पुर्याएको र त्यसको क्षतिपूर्तिका लागि रकम भराउनुपर्ने उनको दाबी छ।
यसअघि चलचित्र कलाकार संघमा निवेदन दिएका भुवन अन्ततः न्यायालय पुगेका हुन्। शाहले केही हप्तादेखि लगातार युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भुवनकाे दाबी छ।
यसअघि चलचित्र कलाकार संघमा निवेदन दिँदै भुवनले साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेप/आरोपहरू लगाई मनगढन्ते, निराधार र चरित्र हत्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानबिन गर्न आग्रह गरेका थिए। केसीको चलचित्र 'ड्रिम्स' मा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दुर्व्यवहार नगरेको भन्दै बिनाकारण गाली बेइजती गरेको भन्दै मुद्दा दर्ता गराएका हुन्।
यस्तो थियो घटना
भुवन केसीको फिल्मबाट डेब्यु गरेकी साम्राज्ञीले त्यो समय आफूले झेल्नुपरेका दुर्व्यवहारको बारेमा केही साताअघि इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै खुलाएकी थिइन्।
सत्र वर्षको उमेरमा फिल्ममा काम गरिरहँदा आफूले सुटिङ स्पटमा दुर्व्यवहार भोग्नुपरेको उनले खुलाएकी थिइन्। सुन्नै नसकिने गालीदेखि विभेदसम्म हुने गरेको उल्लेखसमेत उनले गरेकी थिइन्। आफ्नो परिवारको कोही सदस्य फिल्म क्षेत्रबाट नहुँदा आफूलाई केही असहज भएको भन्दै उनले पारिश्रमिकका मामलामा पनि बाहिर सुनिने गरेको सबै कुरा झुटो भएको बताएकी थिइन्।
यसको जवाफमा भुवन केसीले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै प्रतिक्रिया जनाएका थिए। केसीले कटाक्ष गर्दै आफ्नो फेसबुकमा लेखेका थिए, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि!’
आफूले भोगेको कुरा सुनाइरहँदा धेरैले फिल्ममा काम नपाउने‚ त्यो पनि केटी मान्छेमा बढी असर हुने बताएको उल्लेख गर्दै साम्राज्ञीले थप खुलस्त पारेकी थिइन्। त्यसरी सम्झाउनेलाई उनको प्रश्न थियो, ‘मनैदेखि चित्त बुझेन‚ त्यसैले चुप लागिनँ। त्यो अवस्था मैले भोगेको छु। मैले देखेको छु। मेरो ठाउँमा तपाईं हुनुहुन्थ्यो भने त्यतिबेलै केही गर्नुहुन्थ्यो। सम्झाउने बुझाउने कोही थिएन।’
त्योबेला आफूमाथि भएको दुर्व्यवहारका विषयमा उजुरी गर्दा प्रहरीले कारबाही गर्नेसम्मको अवस्था आइपर्नेतर्फ इङ्गित गर्दै उनले दुर्व्यवहारको हद संकेत गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘मैले कहिल्यै पनि केही कुरा कसैलाई भनिनँ। मैले पुलिस केस गरेको भए त्योबेला केस लाग्थ्यो।’
आफूले दुर्व्यवहारबारे बोल्दा धेरैले त्यसो नगर्न सुझाइरहेको बताउँदै उनले भनेकी थिइन्, ‘उहाँले राम्रो व्यवहार गर्नुभएको थियो भने यो समय आउँदैनथ्यो। यो अवस्था आएको उहाँले गर्दा हो। कति जनाले यस्ता विषयमा बोल्नुभएको होला। सुनुवाइ भएन होला।’
आफूमाथि भएकाे घटनाका विषयमा पछि एक कार्यक्रममा अभिनेता केसीले सम्झाएको समेत उनले सो भिडियोमार्फत् बताएकी थिइन्। भुवनकाे भनाइ उद्धृत गर्दै साम्राज्ञीले भनेकी छन्, ‘उहाँले मलाई बाबा! हेर्‚ तँ त मेरो प्रोडक्ट हो। पुरानो कुरा कोट्याएर के फाइदा भन्नुभएको थियो, भविष्यमा नबोलेस् भनेर उहाँले सम्झाउनुभएको होला।’
केसीले गरेको दुर्व्यवहारबारे साम्राज्ञीले भनेकी थिइन्, ‘मसँगै टाँस्सिएर बोलिरहेको के। फेरि त्यही व्यवहार। मेरो कान नजिकै मुख ल्याएर बोलिराछ। आइ लभ यु बाबा भनिराछ।’
यसरी चर्किएको विवादमा अभिनेता केसीले आफूलाई नभएको आरोप लगाई मानहानी गर्न खोजेकाे भन्दै शुक्रबार मुद्दा दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।