काठमाडौं– नयाँ वर्ष लागिसके पनि करिब डेढ दर्जन रंगकर्मी कहिले साकेला, कहिले धान नाच त कहिले हाक्पारेमा मग्न छन्। सर्वनाम नाटकघरमा मञ्चन भइरहेको ‘परिबन्द’ नाटक हाक्पारे, साकेला जस्ता किराँती संस्कृति झल्किने गीतबाट सुरु हुन्छ।
करिब सवा घन्टाको नाटकमा नेपालको पूर्वी पहाडको ग्रामीण कथा प्रस्तुत गर्दै एक संघर्षशील नारीको आरोह–अवरोह चित्रण गरेको छ। करिब डेढ दशक अगाडिको नेपालको पूर्वी ग्रामीण भेगको घटनालाई नाटकमा उतार्न खोजिएको छ।
गाउँमा खेती–किसानी गरी सुखीसँग बसेको नुमा पारुहाङको जोडी खेतीपाती राम्रोसँग नभएपछि जीवनमा आएको उथलपुथल नै नाटकको मूल द्वन्द्व हो। एक्लो महिला देखेपछि गिद्देदृष्टि लगाउने लालबहादुर, साहुको छोरीलाई प्रेम गरेपछि लाहुर पुग्न बाध्य बबीहाङको छोरा, साहुको ऋणले सबै सम्पत्ति बेच्न बाध्य नरे, रहरको सपना सजाउन लाहुर पुगेपछि दुःख पाई बेपत्ता भएको पारुहाङ नाटकका मूलपात्र हुन्।
सर्वनामको १२औं ब्याचको प्रशिक्षणपछि रंगकर्मीहरुले तयार पारेको यो नाटकमा पूर्वी नेपालमा बोलिने लवजका साथै किराँत संस्कृतिलाई पनि टपक्क टिपिएको छ।
बबीहाङको भूमिकामा देखिएका सिद्धलाल महर्जन, नुमा बनेकी वर्षा मल्ल, पारुहाङको भूमिका निर्वाह गरेका पाश्लाक्पा शेर्पाले आनो छाप छोड्न सफल छन् भने सुस्मिता, थुङ्मा, सोल्टिनी, सुजाता चार वटै भूमिकामा देखिएकी शोभा लिम्बूले सबै भूमिकामा जीवन्त अभिनय गरेकी छन्।
नाटक बैसाख १५ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ सवा ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।