काठमाडौं- नेपालीभाषी भुटानी शरणार्थीको कथामा निर्माण गरिएको फिल्म 'देश खोज्दै जाँदा' अमेरिकाको मेरिल्यान्ड ह्यासभिलमा आयोजना हुने दोस्रो नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ।
आउँदो मे १८ देखि तीन दिनसम्म चल्ने महोत्सवका लागि आधिकारिक छनोट भएको फिल्म समापन समारोहमा प्रदर्शन हुने 'देश खोज्दै जाँदा'का निर्देशक प्रकाश आङदेम्बेले जानकारी दिए। महोत्सवको समापन समारोह मेरिल्यान्ड ह्यासभिलको एएफआई सिल्भर एन्ड कल्चर सेन्टर, अमेरिकन फिल्म इन्स्टिच्युटमा हुनेछ।
दुई दशकसम्म नेपालमा शरणार्थी जीवन जिउन बाध्य भुटानी शिविरको यथार्थ पस्केको फिल्मले हालै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बेस्ट नेसन फिचर फिल्मको फेवा अवार्ड जितेको थियो। फिल्मले दादा साहेव फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भारत, मस्टडसिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अमेरिका, सिल्क स्क्रिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अमेरिका, ह्युमन राइटस इन्टरनेसनल फिल्म फेस्टिभल नेपाल आदिमा सहभागिता जनाइसकेको छ।
फिल्म यसअघि अस्ट्रेलिया, अमेरिका, नेदरल्यान्ड, डेनमार्क, जर्मनी, न्युजिल्यान्ड, क्यानडाका केही विश्वविद्यालयमा प्रदर्शन गरिएको थियो।
निर्देशक आङदेम्बेकै कथा, उपेन्द्र सुब्बाको पटकथा र सञ्जय लामाको छायांकन रहेको फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, ओवेत साम्पाङ, सरिता ओली लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।