काठमाडौं– शीर्ष स्थानमा रहेको युभेन्टस इटालियन सिरि ए फुटबलमा उडिनेजसँग पराजित भएको छ। यो पराजितसँगै युभेन्टसले लिगको उपाधि जित्न अझै कुर्नु पर्ने भएको छ।
बिहीबार राति भएको खेलमा घरेलु टोली उडिनेजसँग युभेन्टस २–१ गोलअन्तरले पराजित भएको हो। उडिनेजको जितमा इलिज नेस्टोरोभस्की र सेको फोफनाले गोल गरे। युभेन्टसका लागि माथिस डि लिग्टले गोल गरे।
सुरुवाती अग्रता युभेन्टसले लिए पनि आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार्न पुग्यो। खेलको ४२औं मिनेटमा डि लिग्टले गोल गर्दै युभेन्टसलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए। तर दोस्रो हाफमा दुई गोल खाँदै युभेन्टस पराजित हुन पुगेको हो।
खेलको ५२औं मिनेटमा नेस्टोरोभस्कीले गोल गर्दै उडिनेजलाई १–१ गोलको बराबरी दिलाए। खेलको इन्जुरी समयमा फोफनाले गोल गर्दै उडिनेजले युभेन्टसमाथि नसोचेको २–१ गोलको जित निकाल्यो।
युभेन्टसले उडिनेजलाई पराजित गरेको भए सिरि ए च्याम्पियन तीन खेल अघि नै हुने थियो। तर, यो हारसँगै युभेन्टसले उपाधि जित्न अर्को खेल कुर्नु पर्ने भएको छ। सिरि ए च्याम्पियन बन्न युभेन्टसलाई तीन अंकको आवश्यक छ। युभेन्टसको ३५ खेलबाट ८० अंक छ। दोस्रो स्थानमा रहेको एटलान्टाको समान खेलबाट ७४ अंक छ। जितसँगै उडिनेज भने ३५ खेलबाट ३८ अंक बनाउँदै लिगको १५ औं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।