काठमाडौं-म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा उक्लिएको छ।
बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वेष्टहाम युनाइटेडसँग १-१ गोलको बराबरी खेले पनि शीर्ष तीनमा उक्लिन सफल भएको हो। घरेलु टिम म्यान्चेस्टर युनाइटेडका लागि मासोन ग्रिनवोडले गोल गरे। यता वेष्टहामका लागि मिकल एन्टोनियोले गोल गरे।
पहिलो हाफको अन्तिम समयमा एन्टोनियोले गोल गर्दै वेष्टहामलाई पहिलो हाफसम्म १-० गोलको अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा म्यान्चेस्टर युनाइटेडले गोल गर्दै बराबरी खेलेको हो। खेलको ५१औं मिनेटमा ग्रिनवोडले गोल गर्दै म्यान्चेस्टरलाई १–१ गोलको बराबरी दिलाएका थिए। बाँकी समयमा दुबै टिमले गोल गर्न नसक्दा बराबरी खेलेको हो।
यो बराबरीसँगै म्यान्चेस्टर युनाइटेड चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। म्यान्चेस्टर युनाइटेडको ३७ खेलबाट ६३ अंक छ। यसअघि सात खेल बाँकी रहँदा नै प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुलको ३७ खेलबाट ९६ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३७ खेलबाट ७८ अंक छ।
त्यस्तै, चौथो स्थानमा रहेको चेल्सीको ३७ खेलबाट ६३ अंक हुँदा पाँचौ स्थानमा रहेको लेस्टरको समान खेलबाट ६२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।