एजेन्सी–एक अफगान किशोरीले आफ्नो बाबुआमाको हत्या गर्ने तालिबान लडाकूलाई मारेपछि सामाजिक सञ्जालभर उनको बहादुरीको प्रशंसा भएको छ।
उनले एके–४७ राइफलले २ लडाकूलाई मारेकी थिइन् भने अन्य कैयौं घाइते भएका थिए।
घटना गत साता घोर प्रान्तमा भएको हो। उनका बाबु सरकारसमर्थक भएका कारण तालिबान लडाकूहरु आक्रमण गर्न उनको घरमा आए। प्रतिशोधमा उनले परिवारको एके ४७ राइफल समाइन् र २ लडाकूको हत्या गरिन्। अन्य कैयौं घाइते भए।
उनको प्रत्याक्रमणपछि अन्य लडाकूहरु उनको घरमा आक्रमण गर्न आए। तर त्यतिन्जेलसम्म गाउँले र सरकारसमर्थिक लडाकू जम्मा भइसकेका थिए। तिनले तालिबान लडाकूहरुलाई भगाए।
अहिले उनले एके ४७ राइफल लिएको तस्बिर भाइरल भइरहेको छ। धेरैले उनको बहादुरीको प्रशंसा गर्दै उनको बदलाले उनका मृतक आफन्तको आत्माले शान्ति पाउने उल्लेख गरेका छन्।
घटनापछि १४ देखि १६ वर्ष बीचकी ती किशोरी र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको अधिकारीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।