काठमाडौं- इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा हुँदै इटालियन सिरि ए मा पुगेका क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान थपेका छन्। रोनाल्डो सिरि ए मा १९९५ पछि सबैभन्दा छिटो ५० गोल पूरा गर्ने खेलाडी बने।
सिरि ए अन्तर्गत सोमबार राति भएको खेलमा लाजियोलार्य २–१ ले हराउँदै दुवै गोल रोनाल्डोले गरेका थिए। जसले उनले सिरि ए मा ६१ खेलमा नै ५० गोल पूरा गरे। यसका साथै प्रिमियर लिग, ला लिगा र सिरि ए मा ५० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन्।
२०१८–१९ को सिजनअघि युभेन्टस गएका रोनाल्डोले पहिलो सिजनमा नै सिरि ए मा ३१ खेलमा २१ गोल गरेका थिए। उनले यो सिजन सिरि ए मा ३० खेलमा ३० गोल नै गरेका हुन्। जसले पाँच पटकका बालोना डि’ओर विजेता रोनाल्डोको नाममा अर्को कीर्तिमान थपियो।
‘कीर्तिमानहरु जहिल्यै महत्वपूर्ण हुन्छन् तर त्योभन्दा महत्वपूर्ण हो टिमको जित। हामी निकै राम्रो टिम हौँ र आज त्यही कुरा प्रमाणित पनि भयो। हामी जहिल्यै सुधार गरेर अझ अघि बढ्न चाहन्छौँ’ खेलपछि रोनाल्डोले भने।
रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा रहँदा २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए। रियल मड्रिडमा रहँदा उनले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए।
सिरि ए मा अहिले युभेन्टस ३४ खेलमा ८० अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको इन्टर मिलानको ३४ खेलमा ७२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।