काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तिमतिर पुगेको छ। विजेता र उपविजेता टुंगो लागेको लिगमा अब युरोपियन प्रतिस्पर्धामा को पुग्ने भन्ने लडाइँ बाँकी छ। जसमा अन्तिम खेलसम्म रोचक अवस्था रहने देखिएको छ।
सोमबार राति क्रिस्टल प्यालेसलाई २-० ले हराएर लिग तालिकामा छैटौँ स्थानमा पुगेको वुल्भ्सले आउँदो सिजन युरोपा लिगमा पुग्ने सम्भावना बनाइराख्यो।
अब अन्तिम खेलमा आइतबार चेल्सीसँग खेल्ने वुल्भ्सको ३७ खेलमा ५९ अंक रहेको छ। अन्तिम खेलमा चेल्सीलाई हराएमा वुल्भ्सले आउँदो सिजन युरोपा लिगमा स्थान पक्का गर्नेछ। वुल्भ्सभन्दा माथि रहेका म्यानचेस्टर युनाइटेड, लेस्टर सिटी र चेल्सीले च्याम्पियन्स लिगमा पुग्ने जोड लगाइरहेका छन्।
म्यानचेस्टर सिटीमाथि लागेको दुई वर्ष युरोपियन प्रतिस्पर्धाको प्रतिबन्ध फुकुवा भएसँगै लिगको शीर्ष चारभित्र अटाउने टिमबारेको निर्णय अन्तिम चरणसम्म पुग्ने देखिन्छ। अहिले तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलमा ६३ अंक छ। चौथो स्थानको लेस्टर सिटीको ३७ खेलमा ६२, पाँचौँमा रहेको म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ६२ अंक नै छ।
तेस्रो स्थानमा रहेको चेल्सीले अब दुई खेल खेल्न बाँकी छ। बुधबार राति चेल्सी र लिग विजेता लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ। जुन खेल जितेमा चेल्सीको ६६ अंक हुनेछ। सिजनको अन्तिम खेलमा चेल्सीले आइतबार वुल्भ्ससँग खेल्नेछ। यसैले शीर्ष चारभित्र पर्न चेल्सीले लिभरपुल र वुल्भ्समध्ये एक टिमलाई हराए मात्र पुग्नेछ।

चौथो स्थानमा रहेको लेस्टर सिटीले अब एक खेल मात्र खेल्न बाँकी छ। जुन खेल शीर्षमा पर्ने प्रतिस्पर्धामा नै रहेको म्यानचेस्टर युनाइटेडविरुद्ध छ। गोल भिन्नतामा पनि उस्तै रहेको लेस्टर र म्यानचेस्टर युनाइटेडबीचको अन्तिम खेल यसैले विशेष महत्वको छ।
अहिले पाँचौँ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले दुई खेल खेल्न बाँकी छ। अन्तिम खेलमा लेस्टरसँग खेल्नुअघि बुधबार राति म्यानचेस्टर युनाइटेड र वेस्टह्यामबीच खेल हुँदैछ। म्यानचेस्टर युनाइटेडले पछिल्लो दुई खेलमा चार अंक बटुलेमा च्याम्पियन्स लिगमा स्थान बन्नेछ।
लेस्टरले पछिल्लो खेलमा टोटनह्यामसँग ३-० ले हारेपछि प्रशिक्षक ब्रेनडान रोजर्सले अन्तिमतिर पुगेको खेलमा आफूहरुसँग अब एक मौका रहेको बताएका थिए। ‘अब सबै खेलाडीहरु आउने खेललाई सोचेर बसिरहेका छन्। यो असाध्यै राम्रो खेल हुनेछ र हामी अगाडि बढ्ने छौँ।’
च्याम्पियन्स लिगसँगै युरोपा लिगका लागि पनि प्रिमियर लिगका अन्तिम खेलहरु रोचक भइरहेका छन्। लिगमा पाँचौँ र छैटौँ स्थानमा रहने टिमले युरोपा लिगमा स्थान बनाउने छन्। चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडमध्ये एक टिम युरोपा लिगमा हुने पक्का छ। त्यसबाहेक वुल्भ्ससँगै टोटनह्याम र आर्सनलको पनि सम्भावना बाँकी नै छ।

पुछारका टिमहरुको अवस्थामा यो सिजन नरविच सिटी रेलिगेसनमा परिसकेको छ। ३७ खेलमा ५ जित र ६ खेल बराबरी गरेर २६ खेल हारेको नरविचको २१ अंक मात्र छ। त्यसमाथि रहेका ब्रोनमाउथ र एस्टोन भिला रेलिगेसन नजिक छन्। त्यसका साथै वाटफोर्ड पनि रेलिगेसनको सम्भावनाबाट बचेको छैन।
प्रिमियर लिगमा बुधबार राति पौने ११ बजे म्यानचेस्टर युनाइटेड र वेस्टह्यामबीच खेल हुँदैछ। बुधबार नै राति १ बजे लिभरपुल र चेल्सी खेल्नेछन्।
त्यसबाहेक लिगको अन्तिम चरणका सबै खेलहरु आइतबार राति पौने ९ बजे एकैपटक हुनेछन्। जसमा वुल्भ्स-चेल्सी, लेस्टर-म्यानचेस्टर युनाइटेड, साउथह्याम्पटन-सेफिल्ड युनाइटेड, न्युक्यासल-लिभरपुल, वेस्ट ह्याम-एस्टन भिला, ब्रन्ली-ब्राइटन, आर्सनल-वाटफोर्ड, म्यानचेस्टर सिटी-नरविच सिटी, क्रिस्टल प्यालेस-टोटनह्याम साथै इभर्टन र ब्रोनमाउथबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।