एजेन्सी–कोरोना भाइरसको संकटबाट समस्यामा परेको अर्थतन्त्र सुधार्न प्याकेज कार्यक्रम ल्याउन युरोपेली संघ (इयु) का नेताहरु सहमत भएका छन्। यसअन्तर्गत संघले ७ खर्ब ५० अर्ब युरोको आर्थिक सहायता प्याकेज निर्माण गर्ने भएको छ। यो कोषबाट कोरोना महामारीबाट तहसनहस भएको अर्थतन्त्र सुधार्न युरोपेली मुलुकहरुलाई अनुदान एवं ऋण दिइनेछ।
युरोपेली संघको सम्मेलनमा अध्यक्ष चार्ल्स माइकलले यो निर्णय युरोपका लागि महत्वपूर्ण कदम भएको बताए।
सहमतिअनुसार कोरोनाबाट बढी प्रभावित मुलुकलाई ३ खर्ब ९० अर्ब युरो अनुदान दिइनेछ भने ३ खर्ब ६० अर्ब युरो सदस्य मुलुकहरुलाई कम ब्याज दरमा ऋण उपलब्ध हुनेछ ।
फ्रान्सको नाइस सहरमा भएको छलफल ५ दिनसम्म चलेको थियो, जुन इयुको अहिलेसम्मकै लामो बैठक भएको बताइएको छ।
स्वीडेन, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र फिनल्याण्ड गरी ५ मुलुकको समूह कोरोनाप्रभावित मुलुकलाई ५ खर्ब अनुदान दिने प्रस्तावको विपक्षमा थियो । यसको नेतृत्व गर्दै डेनर्माकका राष्ट्रपति मार्क रुटेले अनुदानका लागि ३ खर्ब ७५ अर्ब युरोको सीमा तय गरेका थिए।
तर इयुका अन्य सदस्य मुलुकहरु स्पेन र इटलीले ४ खर्ब युरोभन्दा कम अनुदान स्वीकार नगर्ने अडान राखेका थिए। त्यसपछि ३ खर्ब ९० अर्ब युरो अनुदान दिने विषयमा सहमति बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।