काठमाडौं-इटालियन सिरि ए फुटबलमा लिग लिडर युभेन्टसले लाजियोमाथि जित निकालेको छ।
मंगलबार राति घरेलु टिम युभेन्टसले लाजियोलाई २–१ गोलअन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुबै गोल गरे। यता, लाजियोका लागि सिरो इमोबिलले एक गोल फर्काए।
पहिलो हाफमा बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल गोल गर्दै जित निकालेको हो। खेलको ५१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। खेलको ५४औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट अर्को गोल गर्दै २–० गोलको अग्रता दिलाए। खेलको ८३औं मिनेटमा इमोबिलले गोल गरेपछि लाजियोले २–१ को स्थितिमा ल्याएको थियो। तर बाँकी समयमा गोल गर्न नसक्दा युभन्टससँग हारबाट जोगिन सकेन।
रोनाल्डोले टिमलाई जित मात्रै दिलाएनन्। इटालियन सिरि ए कै उपाधि नजिक टिमलाई पुर्याएका छन्। ३४ खेलबाट ८० अंक बनाएको युभेन्टस शीर्ष स्थानमा छ। लिगको दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३४ खेलबाट ७२ अंक रहँदा समान खेलबाट एटलान्टा ७१ अंकसहित तेस्रो स्थानमा छ। पराजित लाजियो भने ३४ खेलबाट ६९ अंक बनाउँदै लिगको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।