काठमाडौं- विश्व उत्कृष्ट फुटबल खेलाडीलाई हरेक वर्ष दिँइदै आएको सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डि’ओर यो वर्ष कसैलाई नदिइने भएको छ। उक्त अवार्डका आयोजक पत्रिका एल इक्विप र फ्रान्स फुटबल म्यागेजिनले यो वर्ष अवार्ड नहुने जनाएको हो।
‘सन् १९५६ पछि पहिलो पहिलो पटक बालोन डि’ओरमा विश्राम लागेको छ। सन् २०२० मा अवार्ड आयोजना हुने छैन। अहिले अवार्ड गर्नका लागि धेरै कुराहरु मिलेको छैन’ फ्रान्स फुटबल म्यागेजिनका प्रधान सम्पादक पास्कल फेरेले भनेका छन्।
गएको वर्ष स्पेनिस क्लब बार्सिलोना कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डि’ओर जितेका थिए। त्यसबाहेक इटालियन क्लब युभेन्टसमा क्रिष्टियानो रोनाल्डोले पाँच पटक बालोन डि’ओर जितेका छन्।
फ्रान्स फुटबलले वर्षका उत्कृष्ट खेलाडीलाई सन् १९५६ देखि नै बालोन डि’ओर अवार्ड दिँदै आएको हो। बीचमा २०१० देखि २०१५ सम्म फिफा वर्ष खेलाडी अवार्डसँगै जोडिएको बालोन डि’ओर त्यसपछि भने छुट्टै अवार्डका रुपमा नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।