काठमाडौं- बार्सिलोना कप्तान लियोनल मेस्सीका लागि यो सिजन खराब रह्यो। तर त्यो खराबी उनको अघिल्ला समयको गोल संख्या र उपाधिका आधारमा मात्रै हो। होइन भने त उनले यही सिजनमा आफ्नो नाममा कीर्तिमान थपेका छन्।
ला लिगामा यो सिजन पनि सर्वाधिक गोल गर्दै मेस्सीले पिचिचि ट्रफी पक्का गरे। यो सिजन ३३ लिग खेल खेलेका मेस्सीले २५ गोल गरे। जसले उनको कीर्तिमानी सातौँ पिचिचि ट्रफी पक्का भयो। पिचिचि ट्रफी ला लिगा सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने अवार्ड हो।
२००९-१० को सिजनमा ३४ गोल, २०११-१२ को सिजनमा ५० गोल र २०१२-१३ को सिजनमा ४६ गोल गरेर पिचिचि ट्रफी जितेका मेस्सीले अहिले लगातार चार सिजन पिचिचि जिते। उनले २०१६-१७ मा ३७ गोल, २०१७-१८ मा ३४ गोल, २०१८-१९ मा ३६ गोल साथै २०१९-२० मा २५ गोल गरे।
यसअघि लगातार चार सिजन पिचिचि ह्युग्यो सान्चेजले जितेका थिए। १९८४-८५ को सिजन एथ्लेटिको मड्रिडबाट र त्यसपछिको तीन सिजन रियल मड्रिडबाट सान्चेजले पिचिचि जितेका थिए।

गोलमा मात्रै होइन यो सिजन मेस्सीले असिस्टमा पनि कीर्तिमान बनाए। यो सिजन उनले २१ असिस्ट गरे। ला लिगामा एकै सिजन २० भन्दा बढी गोल र २० भन्दा बढी असिस्ट गर्ने मेस्सी एक्ला खेलाडी हुन्। मेस्सीले ला लिगामा एकै सिजन सर्वाधिक एसिस्टको कीर्तिमानमा बार्सिलोनाकै पूर्वखेलाडी जाभीलाई जितेका हुन्। जाभीले २००८-०९ को सिजनमा २० असिस्ट गरेका थिए।
ला लिगामा मात्र होइन युरोपका ठूला पाँच लिगहरुमा हेर्दा पनि एकै सिजन २५ गोल र २१ असिस्ट गर्ने मेस्सी एक्ला खेलाडी हुन्। त्यसअघि २००२-०३ को सिजनमा प्रिमियर लिग क्लब आर्सनलबाट थिएरी हेनरीले २४ गोल र २० असिस्ट गरेका थिए।
बार्सिलोनाका लागि पछिल्ला वर्ष च्याम्पियन्स लिगको कमजोर उपस्थिति पनि लिगको उपाधिले सान्त्वना मिल्ने ठाउँ भइरहेको थियो। तर अहिले भने लिग गुमिसकेको छ भने कप्तान मेस्सी आफैले यस्तै खेलले च्याम्पियन्स लिगमा नहुने बताइसकेका छन्। त्यसका पछाडि कारणहरु जे जति भए पनि मैदानको कमजोर उपस्थिति नै प्रमुख कारण हुँदै हो।
हरेक सिजन गोलमा उत्कृष्ट देखिने बार्सिलोना कप्तान लियोनल मेस्सीसमेत यो सिजन गोल संख्याका आधारमा कमजोर देखिए। अन्य खेलाडीको तुलनामा मेस्सीको अहिलेको प्रदर्शन पनि उत्कृष्ट हो तर उनीबाट अपेक्षा योभन्दा धेरै बढी रहन्छ। योभन्दा बढी गर्दै आइरहेका पनि थिए।
यसअघि २०१३-१४ को सिजन मेस्सीका लागि सबैभन्दा खराब समय मानिन्थ्यो। जब कि टाटा मार्टिनोको प्रशिक्षणमा त्यो सिजन मेस्सीले ४१ गोल गरेका थिए। अहिले मेस्सी गोलको त्यही अंकमा पुग्न पनि लगभग असम्भव देखिएको छ। अब च्याम्पियन्स लिगमा जित्दै गएमा पनि चार खेल मात्र बाँकी छन्।
गएको १० वर्ष हेर्दा मेस्सीले ४० गोल पार नगरेको सिजन थिएन। पेप गार्डिओलाको पहिलो प्रशिक्षणमा ३८ गोल गरेका मेस्सी यो सिजन त्यही आँकडामा पुग्न पनि कठिन छ। ला लिगामा २५ गोल गरेका उनले च्याम्पियन्स लिगमा २, कोपा डेल रेमा २ र सुपरकोपामा २ गरी ३० गोल गरेका छन्। यसमा अरु कारणहरुका साथै मेस्सीसँग तालमेल मिल्ने खेलाडीको अभाव मैदानमा स्पष्ट देखिन्छ।
:format(webp):no_upscale()/cdn.vox-cdn.com/uploads/chorus_asset/file/20098401/1257052864.jpg.jpg)
लिगको ३७ औँ चरणमा ओसासुनासँग २-१ ले हारेपछि मेस्सीले यो आफूहरुका लागि निकै खराब समय भएको बताएका थिए। ‘हामी सिजन यसरी सकियोस् भन्ने चाहँदैन थियौँ। हामी कमजोर टिम भएका छौँ। यदि च्याम्पियन्स लिगमा राम्रो गर्ने हो भने हामीले धेरै कुरा परिवर्तन गर्नुपर्ने हुन्छ’ उनले भनेका थिए।
अन्तिम खेलमा अलाभेसलाई ५-० ले हराउँदा बार्सिलोना टिममा निराशा केही कम भएको देखिन्थ्यो। च्याम्पियन्स लिगमा राम्रो गर्न अन्तिम खेलबाट टिमले हौसला पाएको ब्याख्या पनि भए।
जहाँ मेस्सीले भनेका छन्- ‘आज हामीले देखाएको खेल र प्रतिबद्धता राम्रो रह्यो। यसले अगािड बढ्ने बाटो देखाएको छ। हामीले अब च्याम्पियन्स लिगमा जान राम्रो सोचको विकास भएको छ। हामीले भन्ने कुरा सबै भनिसकेका छौँ अब परिवर्तन भएको छ भनेर गरेर देखाउनु छ।’
च्याम्पियन्स लिगको अन्तिम १६ मा नापोलीसँग पहिलो लेग १-१ को बराबरी खेलेको बार्सिलोनाले अगस्ट ९ तारेखमा दोस्रो लेग खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।