काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेष्टर सिटीलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा लेष्टर सिटीलाई घरेलु टिम टोटनह्यामले ३–० गोलअन्तरले पराजित गरेको हो।
टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे। एक गोल भने टोटनह्यामले उपहार स्वरुप पाएको थियो। खेलको छैटौं मिनेटमा नै लेष्टर सिटीका जेम्स जष्टिनले आत्माघाति गोल गरेपछि टोटनह्यामले अग्रता बनाएको थियो। लेष्टर सिटी हार्नुको कारण पनि यही आत्मघाति गोल हुन पुग्यो।
खेलको ३७औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई २–० गोलको अग्रता दिलाए। त्यसको तीन मिनेटपछि अर्थात् खेलको ४०औं मिनेटमा केनले अर्को गोल थप्दै टोटनह्यामलाई पहिलो हाफमै ३–० गोलको अग्रता दिलाए। पहिलो हाफमा बनाएको फराकिलो अग्रता दोस्रो हाफमा पनि कायमै राख्दा लिगको चौथो स्थानमा रहेको लेष्टर सिटीले गोल गर्न सकेन।
जितसँगै टोटनह्याम लिगको छैटौं स्थानमा उक्लिएको छ। ३७ खेलबाट टोटनह्यामले ५८ अंक बनाएको छ। पराजित लेष्टर सिटी भने ३७ खेलबाट ६२ अंक बनाएर लिगको चौथो स्थानमा छ। यो खेलमा पराजित भएसँगै लेष्टरले तेस्रो स्थानमा उक्लिने राम्रो अवसर गुमाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।