काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानमा लिग सकाएको बार्सिलोनाले आफ्नो अन्तिम खेलमा अलभेसमाथि फराकिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टिम अलभेसलाई ५–० गोलले पराजित गरेको हो। जसमा दुई गोल कप्तान लियोनल मेस्सीले गरे। त्यस्तै, अंशु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले समान १–१ गोल थपे।
खेलको २४औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलको ३४औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए। ४४ औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोनाले पहिलो हाफसम्म ३–० को अग्रता बनायो।
त्यस्तै खेलको ५७ औं मिनेटमा नेल्सनले गोल गर्दै बार्सिलोनालाई ४–० गोलको फराकिलो अग्रता दिलाए। बार्सिलोनाविरुद्ध निकै कमजोर देखिएको अलभेस दबाबमा खेलिरहेको थियो। खेलको ७५औं मिनेटमा कप्तान मेस्सीले अर्को गोल थप्दा बार्सिलोना ५–० गोलले विजयी हुन पुग्यो।
त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा सेभियाले भ्यालेन्सियालाई १–० गोलले पराजित गर्दा एथ्लेटिको मड्रिड भने रियल सोसाइडेडसँग १–१ गोलको बराबरीमा रोकियो। भिल्लारियलले इबारलाई ४–० गोलले पराजित गर्दा ग्रानाडाले पनि एथ्लेटिको विल्बाओलाई ४–० गोलले नै पराजित गर्याे।
उपाधि जितेको रियल मड्रिडले यो सिजनमा ३८ खेलबाट ८७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको बार्सिलोनाले ८२ अंक जोड्न सफल भयो। त्यस्तै, तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ७० अंक बनाउँदा ७० अंक नै बनाएको सेभियाले चौथो स्थानमा लिग सकायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।