काठमाडौं-स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले लेगानेससँग बराबरी खेल्दै लिग सकाएको छ।
ला लिगा फुटबलको ३४औं पटक उपाधि जित्दा आफ्नो अन्तिम खेलमा भने लेगानेससँग २-२ गोलको बराबरीमा रोकिएको हो। आइतबार राति भएको खेलमा रियलका लागि कप्तान सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरे। यता, लेगानेसका लागि ब्रियन गिल र रोजर आसलले गोल फर्काए।
खेलको नवौं मिनेटमा नै कप्तान रामोसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिम समयमा गिलले गोल गर्दै १-१ गोलको बराबरी बनाए। खेलको ५२औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-१ गोलको अग्रतामा पुर्याए। तर ७८औं मिनेटमा लेगानेसका आसलले गोल गर्दै २-२ गोलको बराबरीमा ल्याए। बाँकी समयमा च्याम्पियन रियललाई रोक्दै लेगानेसले बराबरीमा खेल टुंग्याउन सफल भएको हो।
यो खेलमा बराबरी भएपनि रियल मड्रिडले एक खेलअघि नै ला लिगाको उपाधि जितिसकेको थियो।
च्याम्पियन बनेको रियलले ३८ खेलबाट ८७ अंक बनाउँदा १८औं स्थानमा रहेको लेगानेसले ३६ अंक बनाउन सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।