काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका लागि सिजनमा एकपछि अर्को खराबी थपिइरहेका छन्। ला लिगाको उपाधि गुमाएको बार्सिलोनामा प्रशिक्षकको भविष्यमाथि प्रश्न उठिरहेका छन् भने क्लबको खेलशैलीमा समर्थकहरु बेखुसी बनिरहेका छन्। यस्तोमा लिगको अन्तिम खेलमा त हुनुपर्ने जति खेलाडीसमेत बार्सिलोनासँग छैन।
ला लिगामा आइतबार राति पौने ९ बजे बार्सिलोनाले अलाभेससँग यो सिजनको अन्तिम खेल खेल्दैछ। जसका लागि बार्सिलोनामा खेलाडी अभाव देखिएको छ। सुरुवाती ११ र परिवर्तन गर्नुपर्ने गरी जम्मा १८ खेलाडी समेत टिममा छैनन्। अलाभेसविरुद्ध बार्सिलोनामा तीन गोलकिपरसहित १६ खेलाडी मात्र उपलब्ध छन्। जसमा पनि चार खेलाडी बार्सिलोना बी टिमबाट छन्।
दोस्रो स्थानमा रहेर लिग सकाउने पक्का भएको बार्सिलोनामा पहिलो टिमका सात खेलाडीहरु टिममा छैनन्। च्याम्पियन्स लिगमा नापोलीसँग अन्तिम १६ को दोस्रो लेगका तयारीमा रहनुपर्ने टिममा खेलाडी घाइते हुने समस्या थपिएको हो।
रेलिगेसनबाट जोगिइसकेको अलाभेसका लागि पनि बार्सिलोनासँगको खेलको महत्व देखिँदैन। गएको शुक्रबार ओसासुनासँगको कमजोर हारले चिढिएको बार्सिलोनाका लागि अलाभेससँगको खेल अर्थहिन भए पनि प्रशिक्षक क्विके सेटियनका लागि च्याम्पियन्स लिग तयारीका लागि विशेष महत्वको देखिन्छ।
अलाभेसविरुद्ध पहिलो रोजाइँका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनलाई आराम दिएर नेटोलाई मौका दिने योजनामा प्रशिक्षक सेटियन देखिन्छन्। डिफेन्समा सेमेडो, लेङलेट र जोर्डी अल्बासँगै बार्सिलोना बी टिमका आरुजो हुने्छन्। डिफेन्समा कोही खेलाडी परिवर्तन गर्नुपरे बार्सिलोनासँग अर्को डिफेन्डर टिममा छैन।
मिडफिल्डमा रिकी पुच, बुस्केट्स र चोटबाट फर्किएका डि योङ हुनेछन्। सर्जियो रोबर्टो र आर्टुरो भिडाल मिडफिल्डरका रुपमा बेन्चमा छन्। यस्तै स्ट्राइकिङमा मेस्सी, फाती र ब्रेथवेट हुने देखिन्छ। त्यसबाहेक लुइस स्वारेज बेन्चमा छन्।
एन्टेनियो ग्रिजम्यान, उसमान डेम्बेले, स्यामुअल उमटिटी, आर्थर मेलो चोटग्रस्त छन् भने जुनियर फ्रिपो, इभान राकिटिक र जेरार्ड पिके एक खेलको प्रतिबन्धका कारण टिममा नपरेका हुन्। यदि कुनै खेलाडीमा चोट देखिएमा त्यसले अलाभेससँगको खेलमा मात्रै होइन च्याम्पियन्स लिगमा नापोलीविरुद्ध हुने खेलमा पनि बार्सिलोनालाई कठिन हुनेछ।
अन्तिम दिनको खेल बार्सिलोना कप्तान लियोनल मेस्सीका लागि पिचिचि ट्रफीका लागि महत्वपूर्ण देखिएको छ। मेस्सी र रियल मड्रिड स्ट्राइकर करिम बेन्जेमासँगबी पिचिचि ट्रफीका लागि प्रतिस्पर्धा देखिएको छ। पिचिचि ट्रफी ला लिगामा सिजनभर सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने अवार्ड हो।
यो सिजन अहिलेसम्म लिगमा मेस्सीले २३ गोल गरेका छन् भने बेन्जेमाले २१ गोल गरेका छन्। रियल मड्रिड र लेगानेसबीचको अन्तिम खेलमा बेन्जेमाका लागि मेस्सीलाई जित्ने अवसर हुनेछ। जसले ला लिगा प्लेयर अफ दि सिजनको अवार्डका लागि पनि फाइदा पुग्नेछ।
मेस्सीले २३ गोलसँगै लिगका यो सिजन २० असिस्ट पनि गरेका छन्। ला लिगामा एकै सिजन २० भन्दा बढी गोल र २० असिस्ट गर्ने मेस्सी एक्ला खेलाडी हुन्। यस्तै मेस्सीले ला लिगामा एकै सिजन सर्वाधिक एसिस्टमा बार्सिलोनाकै पूर्वखेलाडी जाभीसँग बराबरी गरेका छन्। जाभीले २००८–०९ को सिजनमा २० असिस्ट गरेका थिए। अलाभेसविरुद्ध एक असिस्ट गरेमा मेस्सीले कीर्तिमान बनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।