काठमाडौं- स्पेनिस ला लिगामा एक खेल रहँदै विजेताको टुंगो लाग्यो। रियल मड्रिडको ३४औँ लिग उपाधि पछि पनि अझै टुंगिन केही विषय बाँकी छन्। जसमध्ये लिगको अन्तिम दिनमा विशेष चासो छ रेलिगेसनमा को?
सन् १९९४ पछि स्पानियोल पहिलोपटक रेलिगेसनमा पर्यो। स्पानियोलसँगै रियल मायोर्काको रेलिगेसन पक्का भइसक्यो। अब सेल्टा भिगो र लेगानेससँग रेलिगेसनमा नपर्ने अन्तिम मौका बचेको छ।
जसमा आइतबार राति पौने १ बजे विजेता रियल मड्रिड र लेगानेस खेल्दैछन्। रेलिगेसनबाट बच्न विजेताविरुद्ध लेगानेसलाई सहज पक्कै छैन तर अर्को उपाय पनि देखिँदैन। जब कि कोरोना माहामारीका कारण रोकिएर सुरु भएपछिको लिगमा रियल मड्रिडले कुनै खेल हारेको छैन।
अन्तिममा रहेर रेलिगेसनमा परेको स्पानियोलको ३७ खेलमा २४ अंक छ। त्यसमाथि मायोर्काको ३२ अंक छ। पुछारबाट तेस्रोमा रहेको लेगानेसको ३५ अंक छ। लेगानेसभन्दा एक अंकले माथि रहेको सेल्टा भिगोको ३६ अंक छ। यसैले लेगानेसका लागि अन्तिम खेलमा विजेताविरुद्धको आफ्नो जितसँगै सेल्टाको नतिजा पनि महत्वपूर्ण हुनेछ।
सेल्टा भिगोले राति पौने १ बजे नै रेलिगेसनमा परिसकेको स्पानियोलसँग खेल्दैछ। स्पोनियोलले पछिल्लो पाँचै खेल हारेकाले पनि सबैभन्दा बढी दबाब रियल मड्रिडविरुद्ध खेलिरहेको लेगानेसमाथि नै हुनेछ।
लेगानेस २०१६ मा पहिलो पटक ला लिगामा आइपुगेको थियो। त्यसपछिका सिजन रेलिगेसनबाट जोगिइरहेको क्लबका लागि अहिले पुनः तल पुग्नुपर्ने स्थिति आउला जस्तो थिएन। कम्तिमा सुरुवातको केही समय हेर्दा अहिलेको अवस्थामा लेगानेस पुग्नु नपर्ने हो।
तर खेलाडी घाइते हुने समस्यासँगै नेसेरी र ब्रेथवेट जस्ता गोलकर्तालाई अरु क्लबले लगिदिनु लेगानेसका लागि चुनौती थप्ने विषय बन्यो। ट्रान्सफरकै समयमा नेसेरीलाई सेभियाले किनेर लग्यो। जब कि ट्रान्सफर समयभन्दा बाहिर रहेर नै बार्सिलोनाले ब्रेथवेटलाई लगिदियो। जसको प्रत्यक्ष असर लेगानेसको गोलमा देखियो। ब्रेथवेटको प्रयोग न त बार्सिलोनाले राम्ररी गर्न सक्यो न त लेगानेसमा उनको विकल्प भेटियो।
लिगमा रेलिगेसनमा नपर्ने जोडसँगै युरोपियन प्रतिस्पर्धामा पर्न पनि भिडन्त बाँकी नै छ। रियल मडि छ। रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिड र सेभिया च्याम्पियन्स लिगका लागि पक्का भइसकेका छन्। जहाँ भिलारियल युरोपा लिगमा स्थान बनाउन सफल भइसकेको छ। अन्तिम दिनले युरोपा लिग पुग्न सक्ने अरु टिमको टुंगो लाग्नेछ।
छैठौँ स्थानमा रहेको रियल सोसिडाडको ५५ अंक छ। त्यसभन्दा मुनि गेटाफेको ५४, भ्यालेन्सियाको ५३ र ग्रानडाको पनि ५३ अंक नै रहेको छ।
रियल सोसिडाडले एथ्लेटिको मडिलेटिको मड्रिडसँग खेल्दैछ। गेटाफेले लेभान्टेसँग, भ्यालेन्सियाले सेभियासँग र ग्रानडाले एथ्लेटिक क्लबसँग खेल्दैछ। जुन खेलहरुको महत्व युरोपा लिगसँग जोडिएको छ।
अन्तिम दिनमा अर्को फरक भिडन्त जोडिएको छ बार्सिलोना कप्तान लियोनल मेस्सी र रियल मड्रिड स्ट्राइकर करिम बेन्जेमासँग। पिचिचि ट्रफीका लागि मेस्सी र बेन्जेमाबीच प्रतिस्पर्धा देखिएको हो।
पिचिचि ट्रफी ला लिगामा सिजनभर सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने अवार्ड हो। यो सिजन अहिलेसम्म लिगमा मेस्सीले २३ गोल गरेका छन् भने बेन्जेमाले २१ गोल गरेका छन्। अन्तिम खेलमा बेन्जेमाका लागि मेस्सीलाई जित्ने अवसर हुनेछ। जसले ला लिगा प्लेयर अफ दि सिजनको अवार्डका लागि पनि फाइदा पुग्नेछ।
२०१४–१५ को सिजनमा क्रिष्टियानो रोनाल्डोले पिचिचि ट्रफी जितेपछि रियल मड्रिडका खेलाडीले उक्त ट्रफी जित्न सकेका छैनन्। यसैले बेन्जेमाले मेस्सीको गोल संख्या पार गर्न सकेमा टिमका लागि पनि महत्वपूर्ण उपलब्धी हुनेछ। मेस्सीले जितेमा त्यो उनको सातौँ कीर्तिमानी पिचिचि ट्रफी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।