एजेन्सी-आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनी आएपछि आयरल्याण्डको रायन एयरको यात्रुवाहक विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको छ। बम राखेको चेतावनी दिएको आंशकामा प्रहरीले एक ५१ वर्षीय व्यक्तिलाई पक्राउ पनि गरेको छ।
विमानलाई आपतकालीन अवतरण गराउँदा विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारका अन्य उपायलाई तयारी अवस्थामा राखिएको थियाे।
'विमान सुरक्षितरूपमा अवतरण भएको छ, विष्फोटक पदार्थबारे थप जानकारी भैसकेको छैन, तर विमानबाट यात्रुहरूलाई सुरक्षित निकाल्न थालिसकिएको छ,' नर्वेली प्रहरीको ट्वीटर सन्देशमा उल्लेख छ।
सार्वजनिक प्रसारक एनआरकेका अनुसार विमान लन्डनबाट प्रस्थान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।