काठमाडौं- मौद्रिक नीतिले व्यवसायीको मागलाई सम्बोधन गरेको उद्योगी सौरभ ज्योतिले बताएका छन्। उनले कोभिड-१९ पछिको अवस्थालाई पुनर्जाग्रित गर्नेगरी मौद्रिक नीतिले सम्बोधन गरेको समेत बताएका हुन्।
सौरभ ज्योती
मौद्रिक नीति व्यवसायी अपेक्षा गरेबमोजिम नै आएको छ। कोभिड १९ पछिको अवस्थामा व्यवसायलाई पुनर्जाग्रित गर्नेगरी मौद्रिक नीतिले सम्बोधन गरेको छ। हामीले राष्ट्र बैंकलाई दिएको सल्लाहअनुसार नै पुनर्कर्जा र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ।
साना तथा माझौला व्यवसायलाई राहत हुनेगरी मौद्रिक नीति आएको छ। ऋणको समयावधि ६ देखि १२ महिनासम्म पुर्याइएको छ भने सो अवधिको हर्जना समेत नलाग्ने व्यवस्था गरिएको छ। पुनर्कर्जा कोषलाई ५० अर्ब पुर्याइएको छ जुन स्वागतयोग्य कुरा हो। यसले व्यवसायीहरुलाई ठूलै राहत दिनेछ।
व्यवसाय पुनः सञ्चालनका लागि मौद्रिक नीति सहयोगी हुनेछ। कोभिड–१९ बाट अति प्रभावित उद्योग–व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजना/व्यवसायको आधारमा २०७६ चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थालेथप कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले राहत दिएको छ।
कर्जा निक्षेप अनुपात समेत बढाइएकाले तरलता बढ्ने देखिन्छ। यसले व्यवसाय प्रवर्द्धनमा सहयोग नै पुग्ने अनुमान गरिएको छ।
(ज्योति उद्योग वाणिज्य महासंघको बैंक‚ वित्तीय तथा बिमा समिति सभापति हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।