काठमाडौं- स्पेनिस ला लिगामा बिहीबार राति १० खेल हुँदैछन्। जसमध्ये पौने १ बजे हुने रियल मड्रिड-भिलारियल साथै बार्सिलोना-ओसासुनाबीचको खेलले उपाधिकै निक्योलसमेत गर्न सक्नेछ।
रियल मड्रिडले भिलारियलविरुद्धको खेल जितेमा यो सिजनको ला लिगा उपाधि रियल मड्रिडले एक खेल बाँकी छँदै जित्नेछ। रियल मड्रिडले खेल हारेमा पनि यदि बार्सिलोना ओसासुनासँग पराजित भए वा बराबरी खेलेमा उपाधि रियल मड्रिडकै पक्षमा पक्का हुनेछ। अहिले ३६ खेलमा रियल मड्रिडको ८३ अंक छ भने बार्सिलोनाको ७९ अंक छ।
टिमका उपाधिको लागि मात्रै होइन बिहीबार रातिको खेल बार्सिलोना कप्तान लियोनल मेस्सी र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाबीच पिचिचि ट्रफीका लागि देखिएको प्रतिस्पर्धाका लागि पनि महत्वपूर्ण हुनेछन्।
पिचिचि ट्रफी ला लिगामा सिजनभर सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने अवार्ड हो। यो सिजन अहिलेसम्म लिगमा मेस्सीले २२ गोल गरेका छन् भने बेन्जेमाले १९ गोल गरेका छन्। बाँकी रहेका दुई खेलमा बेन्जेमाका लागि मेस्सीलाई जित्ने अवसर हुनेछ। जसले ला लिगा प्लेयर अफ दि सिजनको अवार्डका लागि पनि फाइदा पुग्नेछ।

२०१४-१५ को सिजनमा क्रिष्टियानो रोनाल्डोले पिचिचि ट्रफी जितेपछि रियल मड्रिडका खेलाडीले उक्त ट्रफी जित्न सकेका छैनन्। यसैले बेन्जेमाले मेस्सीको गोल संख्या पार गर्न सकेमा टिमका लागि पनि महत्वपूर्ण उपलब्धी हुनेछ।
बिहीबार रातिको खेलपछि अन्तिम खेलमा आइतबार राति रियल मड्रिडले लेगानेससँग साथै बार्सिलोनाले अलाभेससँग खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।