काठमाडौं- इटालियन सिरि ए अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टसले सासुओलोसँग ३-३ गोलको बराबरी खेलेको छ। ६ गोल भएको रोचक खेलबाट एक अंक जोडेसँगै युभेन्टसको ३३ खेलमा ७७ अंक भएको छ।
लिगमा दोस्रोमा रहेको एटलान्टाको ३३ खेलमा ७० अंक छ। अब पाँच खेल बाँकी रहँदा शीर्षमा रहेको युभेन्टस उपाधिका लागि सम्हालिएको स्थानमा देखिन्छ। युभेन्टससँग बराबरी खेलेको सासुओलो ३३ खेलमा ४७ अंकसहित आठौँ स्थानमा छ।
खेलमा पाँचौँ मिनेटमा नै ड्यानिलोको गोलमा युभेन्टसले अग्रता बनाएको थियो। त्यसको सात मिनेटपछि नै हिग्वेनको गोलमा युभेन्टसले अग्रता दोब्बर बनायो। सासुओलोको लागि जुरिसिसले खेलको २९ मिनेटमा गोल गर्दा पहिलो हाफ २-१ मा सकियो।
दोस्रो हाफमा भने खेल ठीक उल्टो देखियो। सासुओलोले २ साथै युभेन्टसले १ गोल गरे। खेलको ५१औँ मिनेटमा बेर्राडीको गोलमा सासुओलोले बराबरी बनायो। त्यसको तीन मिनेट पछि नै क्यापुटोको गोलमा सासुओलोले अग्रता बनाइसकेको थियो। तर खेलको ६४औँ मिनेटमा सिल्भाको गोलमा युभेन्टसले बराबरी बनायो।
खेलमा ५८ प्रतिशत समय बल सासुओलोकै नियन्त्रणमा रह्यो। पोस्टमा प्रहार भएका सटको संख्या भने उस्तै देखिए। सासुओलोले २२ सट प्रहार गर्न सक्यो भने युभेन्टसको २१ रह्यो। जसमा टार्गेटमा रहेका सट भने सासुओलोको ११ थियो भने युभेन्टसको पाँच रह्यो।
यससँगै युभेन्टसको पछिल्लो तीन खेल नै खराब देखियो। मिलानसँग् ४-२ ले हारेको खेलपछि युभेन्टसले एटलान्टासँग २-२ को र सासुओलोसँग ३-३ को बराबरी खेलेको हो। युभेन्टसले अब सोमबार राति लाजियोसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।