काठमाडौं- इंग्लिस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा आर्सनलसँग लिभरपुल २-१ ले पराजित भयो। जसले प्रिमियर लिगमा लिभरपुलका लागि सर्वाधिक अंकको उपाधि कीर्तिमान बनाउने अवसर चुक्यो।
दुई सिजनअघि म्यानचेस्टर सिटीले सय अंकका साथ लिग जित्दै कीर्तिमान बनाएको थियो। यसपटक राम्रो लयमा रहेको लिभरपुलले त्यो कीर्तिमान तोड्ने अवसर बनाएको थियो। तर आर्सनलसँगको हारले त्यो अवसर गुमेको छ।
अब दुई खेल बाँकी रहँदा लिभरपुलको ९३ अंक रहेको छ। यसपछिका दुई खेलमा चेल्सी र न्युक्यासललाई हराएर ६ अंक जोडे पनि सिटीको कीर्तिमान तोडिन सक्दैन। यसैले आर्सनलसँगको हारपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले भने ‘यसबाट हामीले सिक्नैपर्छ।’
मानेको गोलमा खेलको २०औँ मिनेटमा नै अग्रता बनाएको लिभरपुलले ३२औँ मिनेटमा गोल खान पुग्यो। पहिलो हाफमा नै खेलको ४४औँ मिनेटमा नेल्सनले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा कुनै गोल हुन नसक्दा खेल २-१ मा सकियो।
‘हामीले यसबाट शतप्रतिशत सिक्नुपर्छ। यो हार पनि हाम्रा लागि राम्रो सिक्ने अवसर हो। जितको सबै जस आर्सनलकै हो। केही कुराले म असन्तुष्ट छु तर पनि खेल राम्रो नै भएको हो’ क्लोपले भने।
अप्रिल २०१५ पछि आर्सनलले लिभरपुललाई पहिलोपटक हराएको हो। यसका साथै आफैले पहिले गोल गरेर पनि खेल हार्न पुगेको लिभरपुलले यो अप्रिंल २०१७ पछि हो। त्यसपछिका ८३ खेलमा लिभरपुलले पहिले गोल गरेपछि खेल हारेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।