एजेन्सी–अर्बपति जेफ बेजोस, बिल गेट्स, अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामालगायतका ट्वीटर अकाउन्ट ह्याक गरिएका छन्। ह्याक गरिएको अकाउन्टमा बिटक्वाइनमा दान माग्दै पोस्ट गरिएको पाइएको छ।
ह्याकपछि बिल गेट्सको अकाउन्टमा गरिएको पोस्टमा भनिएको छ, ‘हरेकले मलाई समाजलाई फिर्ता गर्न भन्दै आएका छन्, अब त्यो समय आएको छ, तपाईं मलाई १ हजार डलर पठाउनुस्, म तपाईंलाई २ हजार डलर पठाउनेछु।’
टेस्ला प्रमुख एलन मस्कको अकाउन्टमा पनि ‘एक घण्टासम्म बिटक्वाइनमा पठाइएको पैसालाई दुईगुणा बनाएर पैसा फिर्ता पठाउने’ उल्लेख गरिएको छ।
बिटक्वाइनको ठेगानाको लिंक उल्लेख गर्दै लेखिएको ट्वीटमा भनिएको छ, ‘म कोभिड महामारीका कारण दान गरिरहेको छु ।’
अमेरिकाका चर्चित र्पर कनवे वेस्ट, राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसहित विश्वका ठूला कम्पनीहरु उबर र एप्पलको अकाउन्ट पनि ह्याक गरिएको छ। त्यसको केही समयमै ह्याकरलाई मानिसहरुले एक लाख डलरभन्दा बढी रकम पठाएको समाचारमा जनाइएको छ।
ट्वीटरले यस घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।