काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फ्रान्की डि योङ चोटमुक्त भएका छन्। ला लिगा अन्तर्गत शुक्रबार राति ओसासुनासँग हुने खेलका लागि डि योङको नाम टिममा समावेश गरिएको छ।
कोरोनाका कारण रोकिएर सुरु भएपछिको कुनै पनि खेलमा डि योङ खेल्न सकेका थिएनन्। टिममा डि योङसँगै आर्थर र अन्सु फाती पनि फर्किएका छन् भने एन्टोनियो ग्रिजम्यान, स्यामुअल उमटिटी र उसमान डेम्बेले भने चोटका कारण टिमबाहिर नै छन्।
बार्सिलोना प्रशिक्षक क्विके सेटियनले डि योङले ओसासुनाविरुद्धको खेलमा केही समय मात्र भए पनि खेल्ने बताएका छन्। सम्भव भएसम्म सुरुवाती ११ मा राख्ने र त्यो सम्भव नभए पनि खेलाडी परिवर्तनको समय उनको उपयोग गरिने सेटियनले बताएका हुन्।
अहिले ला लिगामा दुई खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिडभन्दा चार अंकले पछि छ। बार्सिलोनाको अन्तिम खेल आउने सोमबार अलाभेससँग छ। लिगको उपाधि रियल मड्रिडले जित्ने लगभग पक्का हुँदा बार्सिलोना प्रशिक्षक सेटियनले आफ्नो कमजोरी भन्दा रियल राम्रो पक्ष उपाधिको कारण रहेको बताए।
‘यो सिजन धेरैजसो खेल मेरै प्रशिक्षणमा रहेको हुँदा हारको जिम्मेवारी मैले पनि लिनुपर्छ। तर उपाधि मात्र नहेरेर त्यसका लागि गरिएको मेहनतलाई पनि विचार गर्नैपर्छ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।