काठमाडौं-केही दिनदेखि नेपाली सिनेजगतमा जारी ‘महानायक’ विवादमा अभिनेता राजेश हमालले आफ्नो प्रतिक्रिया दिएका छन्। मंगलबार भिडियो सन्देश जारी गर्दै उनले सम्बन्धित व्यक्तिलाई माफी दिन पनि आग्रह गरेका छन्।
केही दिनअघि अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा हमाललाई ‘महानायक’ भनिएकोबारे प्रश्न उठाइएपछि विवाद सुरु भएको थियो। धेरैले दीपाश्रीको आलोचना गरेका थिए। यो प्रकरणमा हमालले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेका हुन्।
उनले आफ्ना फ्यान र दर्शकलाई आग्रह गर्दै भिडियोमा भनेका छन्, ‘तपाईंहरुले सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला र कलाकारलाई आफ्नो सिर्जना पस्कन प्रेरित गरिरहनुहोला।’ भिडियोमा उनले दीपाश्री निरौलाको नाम भने लिएका छैनन्।
हमालले कुनै पनि व्यक्तिको भावनामा ठेस पुर्याउने अभिव्यक्तिलाई नजरअन्दाज गरेर अघि बढ्ने सहिष्णुता आफूमा रहेको भन्दै यस्तो ऊर्जा दर्शकबाटै प्राप्त भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।