नुवाकोट- विदुर नगरपालिकाले वडा नं १ को सिमुटारमा बस्दै आएका भूकम्पपीडितहरुलाई बस्ती खाली गर्न आग्रह गरेको छ। तर भूकम्पपीडितले भने बसोबासको वैकल्पिक व्यवस्था नभएसम्म बस्ती खाली नगर्ने अडान राखेका छन्।
२०७२ बैसाखको महाभूकम्पबाट विस्थापित भएका साल्मे, भाल्चे, किम्ताङ, उर्लेनी लच्याङ र रसुवाको समरथली र यर्सा लगायत ठाउँका बासिन्दा सिमुटारमा बस्दै आएका छन्।
नगरपालिकाले बैसाख १५ गतेसम्म बस्ती खाली सूचना जारी गरेपछि पीडितहरु थप तनावमा परेका छन्। चैत २९ गते सूचना जारी गर्दै नगरपालिकाले बैसाख १५ सम्ममा बस्ती खाली गर्न उर्दी जारी गरेको हो।
साल्मेका भूकम्पपीडित लक्ष्मण लामाले पहिरोले सधैं पिरोल्ने गरेकाले आफूहरु अब साल्मेमै गएर बस्न नसक्ने बताए। 'आफ्नै ठाउँमा जान मन छ,' उनले बाध्यता सुनाए, 'तर पहिरो झरेर कुनबेला विपत्ति आइलाग्छ, भन्न सकिन्न।'
भूकम्पले घर भत्काएकाले साल्मेमा जान नसकिने भन्दै अर्का पीडित टीकामान तामाङले नगरपालिकाको निर्णयले थप पीडा दिएको दुखेसो पोखे। 'सिमुटारमा बस्दा पाइएको स्वास्थ्य र शिक्षाको सुविधा साल्मे भाल्चेमा उपलब्ध भए हामी फर्कन तयार छौं। नगरपालिकाले यसको व्यवस्था मिलाइदिनुपर्छ,' उनले भने।
विदुर नगरपालिकाले भने भूकम्पीडित बस्दै आएको उक्त स्थानमा राष्ट्रिय गौरवको आयोजना बनाउन गुरुयोजना सुरु भइसकेको बताएको छ।
वडा कार्यालयले भूकम्पपछि पीडितहरुलाई सम्बन्धित स्थानमा बसोबासको व्यवस्था नभएसम्म सिमुटारमा अस्थायी बसोबासको प्रबन्ध मिलाएको थियो।
विदुर नगरपालिका दैवी प्रकोप उद्धार समितिका प्रतिनिधि, स्थानीय प्रशासक र पीडितहरुबीच आवश्यक पर्दा बस्ती छाडिदने गरी मौखिक सहमति भएको जनाउँदै नगरपालिकाले बस्ती छाड्न आग्रह गरेको जनाएको छ। 'तोकेको समयसम्म सार्वजनिक जग्गा खाली नगरे नगरपालिका कडा भएर प्रस्तुत हुनेछ,' नगरपालिकाका मेयर सञ्जु पण्डित भन्छन्, 'सार्वजनिक जग्गाको सुरक्षा नगरपालिकाको कर्तव्य हो। नगरभित्रको कुनै पनि जग्गा कसैले दुरुपयोग गर्न पाउँदैन।'
गाउँमा अझै पनि सुक्खा पहिरोको जोखिम रहेको भन्दै पीडितहरु भने फर्कन मानिरहेका छैनन्।
गाउँमा पुनर्निर्माण भइरहेको भन्दै घर फर्किन नगरपालिकाले आग्रह गरे पनि पीडितहरु भने अझैसम्म घर निर्माण भइनसकेको बताउँदै आएका छन्।
सिमुटारमा अहिले नुवाकोट र रसुवाबाट आएका २ सय भन्दा बढी घरधुरीहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।