काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई च्याम्पियन हुन दुई अंक आवश्यक भएको छ।
सोमबार राति भएको खेलमा रियलले ग्रानाडालाई २-१ गोलअन्तरले पराजित गरेसँगै रियल स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको हो। रियललाई जिताउन फेर्लान्ड मेन्डी र करिम बेन्जिमाले गोल गरे। ग्रनाडाका लागि डार्विनले गोल गरे।
खेलको १०औं मिनेटमा मेन्डीले गोल गर्दै रियललाई १–० गोलको अग्रता दिलाए। खेलको १६औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए। ५०औं मिनेटमा डार्विनले गोल गर्दै ग्रानाडालाई २–१ गोलको स्थितिमा ल्याएपनि हारबाट जोगाउन सकेनन्।
यो जितसँगै रियल मड्रिडले उपाधि जित्ने सम्भावना झनै बलियो बनाएको छ। रियलले अब बाँकी रहेका दुई खेलबाट दुई अंक बटुल्न सके उपाधि आफ्नो पोल्टामा पार्नेछ। ३६ खेलबाट ८३ अंक बनाएको रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ४ अंकको अग्रता कायम गरेको हो। बार्सिलोनाको समान खेलबाट ७९ अंक छ।
त्यस्तै, सोमबार राति नै भएका अन्य खेलमा रियल सोसाइडेडले भिल्लारियललाई २–१ गोलअन्तरले पराजित गर्दा गेटाफे र अलभेसले भने गोलरहित बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।