काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा बिहीबार राति भएका तीन खेलमा नै भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को गलत प्रयोग भएको पाइएको छ। म्यानचेस्टर युनाइटेड-एस्टन भिला, साउथह्याम्पटन-इभर्टन र टोटनह्याम ब्रोनमाउथको खेलमा भिएआरमा गल्ती भएको प्रिमियर लिगले स्वीकार गरेको छ।
म्यानचेस्टर युनाइटेडले एस्टन भिलालाई ३-० ले हराएको खेलमा २७औँ मिनेटमा भिएआरमार्फत पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता बनाएका थिए। जुन पेनाल्टीको निर्णय गलत रहेको बताइएको छ।
साउथह्याम्पटन र इभर्टनबीच १-१ को बराबरी भएको खेलमा साउथह्याम्पटनले खेलको २९औँ मिनेटमा भिएआरमार्फत पेनाल्टी पाएको थियो। पेनाल्टी मिस हुन पुग्यो तर त्यो पेनाल्टी भिएआर निर्णय गलत थियो।
यस्तै टोटनह्याम र ब्रोनमाउथले गोलरहित बराबरी खेलेको खेलमा जोसुवा किंगले ह्यारी केनलाई धकेलेर लडाउँदा टोटनह्यामले पाउनुपर्ने पेनाल्टी पाएन।
भिएआरले खेलको महत्व, रोमाञ्चकता र तीब्रतामा असर गरेको भनेर आलोचना भइरहँदा एकै दिन तीन गलत निर्णय भएको प्रिमियर लिगले नै स्वीकार गरेको हो। यस्तोमा पूर्वखेलाडी टिम चाहिलले भिएआरको निर्णयको समयमा टिममा पूर्वखेलाडी पनि सम्मिलित हुने हो भने गल्ती कम हुने बताउँछन्।
‘मैदानमा खेलाडीले के गरेको हो भन्ने कुरा खेलाडीलाई नै राम्ररी थाहा हुन्छ। डिबक्समा खेलाडी लड्दा भएको के हो र त्यसको औचित्य राम्ररी बुझ्न सकिन्छ। यस्तोमा पूर्वखेलाडी भिएआर टिममा रहँदा सबैलाई फाइदा हुन्छ’ चाहिललाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
बिहीबार राति टोटनह्यामको बराबरीको नतिजा भिएआरमार्फत उल्टिन सक्ने अवस्थामा पनि ह्यारी केनमाथिको फोउल पेनाल्टीमा लगिएन। त्यसले टोटनह्याम प्रशिक्षक जोसे मोउरिन्हो भन्छन्- ‘विश्वमा जोसुकैलाई पनि आफ्नो टिमले पेनाल्टी पाउनुपर्ने भन्ने नै लाग्छ। तर पनि खेलमा हुनुपर्ने निर्णय भने हुनैपर्छ। महत्वपूर्ण समय कुन थियो र निर्णय के भयो सबैलाई थाहा छ।’
२०१८ मा भएको रसिया विश्वकपका बेला भिएआरले गर्दा फुटबलको रमाइलो खल्लो भएको भन्ने तर्क अहिले प्रिमियर लिगलगायत अन्य ठूला लिगमा पनि जोडिएको छ। स्पेनिस ला लिगामा त भिएआरको प्रयोगले कुनै एक टिमलाई मात्र फाइदा भएको भन्ने आलोचना पनि व्यापक छ।
फिफाले भिएआरको प्रयोग ठूला लिगमा गर्न चार वर्ष पर्खिएको थियो। अहिले भने फिफाले भिएआरलाई विश्वभर सफल रहेको बताउँदै आएको छ।
यस्तोमा भिएआर आवश्यक हो भनेर तर्क गर्नेहरु र आवश्यक होइन भनेर तर्क गर्नेहरु दुवैका आफ्ना विचारहरु छन्। सकेसम्म भिएआरको प्रयोगलाई भने वैज्ञानिक बनाउन प्रयासहरु भएका देखिन्छन्।
भिएआरले कसरी काम गर्छ?
भिएआर थप एक रेफ्री जस्तै हो। जसले खेल हेरेर अफिसियलहरुलाई निर्णयमा सल्लाह दिन्छ। केही रेफ्री भिडियो असिस्टेन्ट रेफ्रीको रुपमा कम्प्युटर स्क्रिन अगाडि रहेका हुन्छन्।
उनीहरुको सहयोगीसहितको टिममा खेल भइरहेको मैदानबाट भिडियो स्ट्रिमिङ प्राप्त गर्छन्। जसमा स्लो मोसन क्यामेराको दृश्यसहित अन्य सबै क्यामेरामा कैद भएका दृश्य हुन्छन्।
भिएआरले सबै खेल पूरै हेरिरहेको हुन्छ। यदि उनीहरुले केही गलत देखेमा रेफ्रीलाई जानकारी दिन्छन्। रेफ्रीले नै आवश्यक ठानेमा पनि उनी भीएआर टिमसँग जोडिन सक्छन्। अथवा रेफ्रीले आफूले निर्णय दिइसकेपछि पनि केही दुबिधा भएर भिएआरको सहयोग लिन चाहेमा लिन सक्छन्।
यसरी हेर्दा भिएआरले सल्लाह दिने मात्रै हो। यदि भिएआरले रेफ्रीको निर्णयभन्दा उल्टो सल्लाह नै दिए पनि सबै निर्णय गर्ने अधिकार भने मैदानमा रहेका रेफ्रीमा नै हुन्छ। उनैले भिएआरको फुटेज हेरेर अन्तिम निर्णय लिन सक्छन्।
प्रयोग भएको कसरी थाहा पाउने?
भिएआरको सम्पूर्ण प्रणाली रेफ्रीमा केन्द्रित हुन्छ। यसको प्रयोगको तीन तरिका छन्। पहिलो अवस्थामा रेफ्रीले आफ्नो कानमा जोडिएको यन्त्रमार्फत निर्णयमा समिक्षा गर्नुपर्ने सन्देश प्राप्त गर्न सक्छन्।
भिएआरले रेफ्रीलाई निर्णय परिवर्तन गर्ने वा नगर्ने संकेत दिनको लागि एउटा शब्द भन्ने गर्छन्। दर्शकहरुले यस्तो भैरहेको थाहा नपाउन पनि सक्छन् वा रेफ्रीले आफ्नो ‘इयर पिस’ समातेको जस्तो मात्रै देख्न सक्छन्।
दोस्रो अवस्थामा भिडियो प्रक्रिया प्रयोग भएको अलि औपचारिक रुपमा देख्न सकिन्छ। यसको सहयोगको लागि रेफ्रीले हावामा हातको सहायताले टिभीजस्तो संकेत बनाउँछन् र भिएआर रेफ्रीले रिप्ले हेरेर सुझाव दिन्छन्। भिएआर रेफ्रीले यन्त्रमार्फत सन्देश दिन्छन्, त्यसपछि रेफ्रीले निर्णय गर्छन् र हावामा टिभीको जस्तो संकेत बनाएर खेल पुनः सुरु गर्नेछन्।
तेस्रो अवस्था धेरै नै प्रष्ट हुन्छ। यसले रंगशालाको माहौल नै शान्त बनाउँछ र यो अलि निराशाजनक पनि हुन सक्छ। रेफ्रीहरु मैदान नजिकको सानो रिभ्यु स्टेशनमा जान्छन् र हावामा टिभीको संकेत बनाउँछन्। उनीहले त्यहाँ रिप्ले हेर्छन् र छलफल गरेर निर्णयमा पुग्छन्।
सबै अवस्थामा रेफ्रीले भिएआर बिनाको परम्परागत तरिकामा झैं निर्णयको संकेत गर्छन्। निर्णय कसरी भयो भन्ने जानकारी दिन हावामा टिभीको संकेत बनाउँछन् र नियमित तरिकाबाट खेल सञ्चालन गर्छन्।
भिएआरले के के गर्न सक्छ?
भिएआरमा केही सीमित निर्णयहरुमा मात्रै आधारित रहन पाइन्छ। जुन प्रस्ट देखिने खालका गल्तीहरु र गम्भीर प्रकृतिका गलत निर्णयमा प्रयोग हुने गर्दछ।
गोल - गोल भएको हो कि होइन भन्ने हेर्नको लागि भिएआरको प्रयोग गर्न सकिन्छ। तर, गोलको लागि गरिएको प्रयासमा पनि यसले फैसला गर्न सक्छ, बलले जाली चुम्दा मात्रै होइन। यदि कुनै गोल दिँदा कुनै नियम उल्लंघनले यसलाई रोक्न सक्छ भने भिएआरको सहयोगले यस्तो गोल दिनबाट रोक्न सकिन्छ। जसमा फोउल, अफसाइड या ह्याण्ड हुन सक्छ।
पेनाल्टी - पेनाल्टी दिन उपयुक्त छ कि छैन भन्ने भिएआरमार्फत हेर्न सकिन्छ। त्यस्तै दिइएको पेनाल्टीको निर्णय उल्ट्याउन पनि सकिन्छ। यसैले पेनाल्टी दिने रेफ्रीको निर्णय सही हो या होइन अथवा पेनाल्टी दिनु पर्ने हो कि होइन भन्नेमा यसले सहयोग गर्नेछ।
सिधा रातो कार्ड - यदि रेफ्रीले फोउल भएको निर्णय गरे भने भिएआर त्यस फोउलको लागि रातो कार्ड दिने कि नदिने भनेर निर्णय गर्न प्रयोग गर्न सकिन्छ। भिडियो प्रविधिको प्रयोगमा रातो कार्ड दिने नदिने निर्णय गर्नु धेरै विवादास्पद कुरा हुन सक्छ।
पहिचानमा गल्ती - भिएआरको जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण काम यही नै हो। यसले गलत खेलाडीलाई पो अनुशासनको कारबाही गरिएको छ कि भनेर हेर्ने काम गर्छ। यदि त्यस्तो भेटियो भने रेफ्रीले सच्याउन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।