काठमाडौं- इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडविरुद्ध पाँच गोल हानेको छ। न्युक्यासलविरुद्धको खेलपछि सिटीका पाँच खेलाडीले एकै सिजन १० भन्दा बढी गोल हान्ने कीर्तिमान पनि बनाएका छन्।
म्यानचेस्टर सिटीका सर्जियो अग्युरोले १६, रहिम स्टर्लिङले १३, केभिन डि ब्रायनले ११, गाब्रियल जिससले ११ र रिहाद महरेजले १० गोल यसै सिजन गरेका छन्। यसअघि प्रिमियर लिगमा एकै सिजन एउटै टिमका पाँच खेलाडीले १० गोलको आँकडा पार गरेका थिएनन्।
बुधबार राति भएको खेलमा घरेलु टोली म्यान्चेस्टर सिटीले न्युक्यासललाई ५–० गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा गाब्रियल जिसस, रियाद महरेज, डेविड सिल्भा र रहिम स्टर्लिङले गोल गरे। एक गोल भने न्युक्यासलले आत्मघाति गर्न पुग्यो।
खेलको १०औं मिनेटमा नै गोल गर्दै जिससले सिटीलाई अग्रता दिलाए। २१औं मिनेटमा महरेजले गोल गर्दा सिटी पहिलो हाफसम्म २–० गोलले अघि रहन पुग्यो। तर खेलको ५८औं मिनेटमा न्युक्यासलका फेडेरिको फर्नान्डेजले आफ्नै पोष्टमा आत्मघाति गोल गर्न पुगेपछि सिटीले ३–० गोलको अग्रता बनाएको थियो।
फराकिलो जित निकाल्ने क्रममा खेलको ६५औं मिनेटमा सिल्भाले गोल गरे। त्यस्तै, खेलको अन्तिम समयमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५–० गोलको जित दिलाए।
यो जितपछि सिटीले ३४ खेलबाट ६९ अंक बनाएको छ। पराजित न्युक्यासलको भने ४३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।