काठमाडौं– इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले ब्राइटनलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा घरेलु टोली ब्राइटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गर्दा एक गोल कप्तान जोर्डन हेन्डरसनले गरे। यता ब्राइटनका लागि लेन्ड्रो ट्रोसार्डले गोल फर्काए।
सुरुवाती समयमा नै दुई गोल खाएको ब्राइटन दबाबमा खेलेको थियो। खेलको छैटौं मिनेटमा नै सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि अर्थात खेलको आठौं मिनेटमा हेन्डरसनले गोल गर्दै लिभरपुललाई २–० गोलको अग्रता दिलाए। तर खेलको ४५ औं मिनेटमा ट्रोसार्डले गोल गरेपछि पहिलो हाफसम्म खेल २–१ गोलको स्थितिमा पुगेको थियो।
पहिलो हाफमै अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। लिभरपुलका लागि सलाहले नै खेलको ७६औं मिनेटमा गोल गर्दै ३–१ गोलको जित दिलाए।
सात खेलअघि नै इंग्लिस प्रिमियर लिग च्याम्पियन भइसकेको लिभरपुलको ३४ खेलबाट ९२ अंक भएको छ। पराजित ब्राइटनको भने समान खेलबाट ३६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।