काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७३ पुस २१ गते भित्रिएको साढे ३३ किलो सुन तस्करी काण्डमा भरियाका रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाही पक्राउ परे। उक्त प्रकरणमा ३३ जना संलग्न भएको भन्दै उनीहरु विरुद्ध जिल्ला अदालतमा अवैध सुन तस्करी र संगठित अपराधका दुई मुद्दा दायर भए।
तस्करीको सुन विशालबजारमा रहेको शालिमार ज्वेलर्सले बिक्री गर्ने गरेको आरोपपत्रमा उल्लेख थियो। प्रहरीले ज्वेलर्सका सञ्चालकमध्ये राहुल गोयललाई सोही वर्ष माघ २ गते पक्राउ गर्यो। जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि त्यसलाई निर्णय खारेजीको मागसहित सरकारी पक्षले पुनरावेदन गरेको छ। गत चैत ६ गते सरकारी वकिलको कार्यालयले ज्वेलर्सका सञ्चालकहरुलाई धरौटीमा रिहा गर्ने जिल्लाको अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै निवेदन दर्ता गरेको हो।
उक्त निवेदनमा बिहिबार सुनुवाइ गर्दै उच्च अदालत पाटनले जिल्लाको आदेश झिकाएको छ। उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय केशवराज जोशी र अनन्तराज डुम्रेको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो। इजलासले जिल्ला अदालत काठमाडौको थुनछेक आदेश मागे हो।
जिल्ला अदालतमा विचाराधीन मुद्दामा तस्करीको सुन बिक्री गर्ने कार्यमा शालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयलको संलग्नता रहेको दाबी गरिएको छ। उक्त तस्करीमा राजधानीका चार वटा सुन पसलको संलग्नता खुलेको थियो। तस्करीमा आरके ज्वेलर्स, शालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको थियो।
उच्च अदालतले यसअघि वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर हाउसका मालिकहरु रोजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठको पक्षमा आदेश गरेको थियो। उनीहरुको मुद्दा हाल सर्वोच्चमा सरकारी पक्षले पुनरावेदन गरेको छ। सुन तस्करी प्रकरणमा जिल्ला अदालतले केही मुख्य अभियुक्तलाई धरौटीमा रिहा गरेपछि सरकारी पक्ष सुरुमा उच्च अदालत पुगेको थियो। जिल्लाले थुनामा पठाउने आदेश गरेका केही व्यक्ति धरौटीमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालत पुगे पनि जिल्लाकै आदेश सदर गरेको थियो।
विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री समेत पक्राउ परेका थिए। यस्तै, भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पनि पक्राउ परे।
भरिया थुनामा, नाइके धरौटीमा रिहा
सो सुन प्रकरणमा सिआइबीले करिब १७ करोड रुपैयाँको बिगो दाबी गरी ३३ जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये भरियाका रुपमा सुन ओसारपसार गर्नेहरु जिल्ला अदालतको आदेशले जेलमा छन् भने तस्करीका मुख्य नाइकेको अभियोग लागेका अधिकांश धरौटीमा छुटेका छन्।
जिल्ला र उच्च अदालतको आदेशले गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, राजकुमार ढकाल र श्रीनारायण यादव थुनामा छन्। जिल्लाले श्यामबहादुर खत्रीलाई दुई लाख, रोजेश शाक्य, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ र सपन श्रेष्ठलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।