काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
चेल्सीको जितमा ओलिभर जिराउड, क्रिस्टियन पुलिसिक, टमी अब्राहमले गोल गरे। यता, क्रिस्टल प्यालेसका लागि विलफ्रेड जाहा र क्रिस्टियन बेनटेकेले गोल गरे।
छैटौं मिनेटमा जिराउड र २७औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाएका थिए। जाहाले खेलको ३४औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई २–१ गोलको स्थितिमा ल्याए। ७१औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–१ गोलको अग्रता दिलाए। खेलको ७२औं मिनेटमा बेनटेकेले गोल गर्दै ३–२ गोलको स्थितिमा क्रिस्टल प्यालेसलाई पुर्याए पनि हारबाट जोगाउन सकेनन्।
त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई १–१ गोलको बराबरीमा रोकेको छ। लेस्टर सिटी बराबरीमा रोकिदा चेल्सी तेस्रो स्थानमा उक्लिएको हो। जितसँगै चेल्सीले ३४ खेलबाट ६० अंक बनाएको छ। पराजित क्रिस्टल प्यालेसको भने समान खेलबाट ४२ अंक छ।
लेस्टर सिटी भने ३४ खेलबाट ५९ अंक बनाउँदै चौथो स्थानमा झरेको छ। यता आर्सनल समान खेलबाट ५० अंक बनाउँदै सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।