काठमाडौं- स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले आफ्ना खेलाडी साटफेर गर्ने भएका छन्। बार्सिलोनाले आर्थरलाई युभेन्टसमा बेच्दा युभेन्टसले बार्सिलोनालाई मिरालेम पियानिच बेच्ने सहमति भएको हो। यो सिजनको अन्त्यसँगै आर्थर युभेन्टस जाने छन् भने पियानिच बार्सिलोना आउने छन्।
३० वर्षीय मिडफिल्डर पियानिचको मूल्य ६० मिलियन युरो तोकिएको छ। सन् २०१६ मा युभेन्टसमा आबद्ध भएका पियानिचले २१४ खेल खेलेका छन्। २०१८ मा ६ वर्षका लागि बार्सिलोनामा आएका आर्थरको ७२ मिलियन युरो मूल्य तोकिएको छ।
इटालियन सिरि ए फुटबलको उपाधि दौडमा रहेको युभेन्टस लिगको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको लाजियोलाई ४ अंकले पछि पारेको छ। युभेन्टसको २८ खेलबाट ६९ अंक हुँदा लाजियोको समान खेलबाट ६५ अंक छ।
यता स्पेनिस क्लब बार्सिलोनाको भने यो सिजनको ला लिगा च्याम्पियन बन्ने यात्रा कमजोर हुँदै गएको छ। ३२ खेलबाट ७१ अंक जोड्दै शीर्ष स्थानमा रहेको रियल मड्रिड भन्दा बार्सिलोना दुई अंकले पछि छ। बार्सिलोनाको ३२ खेलबाट ६९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।