काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तहको स्थायी अनुमति पत्रबारे प्रकाशित नतिजाअनुसार ६६ हजार ५ सय ६२ परीक्षार्थीमध्ये ३ हजार ६ सय ८२ जनामात्र उत्तीर्ण भए। असार ३ मा प्रकाशित नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ५.८२ प्रतिशतमात्रै उत्तीर्ण भए।
कक्षा १२ सम्मको उत्तीर्ण अकं ३५ हो। शिक्षा सेवा आयोगमा एक सय पूर्णाङ्कमा पास हुन ५० ल्याउनुपर्छ । एक सय पूर्णाङ्कमा ४० अकंको ‘अब्जेक्टिभ’ ६० अकंको ‘सब्जेक्टिभ’ प्रश्न पत्रहरू हुन्छन्। ६० नम्बरको ‘सब्जेक्टिभ’ जसमा २५ अकंका सम्बन्धित विषयसँग ३५ अकंको पेशागत ज्ञानसम्बन्धी प्रश्नपत्र सोधिएको हुन्छ। जसले ५० अङ्क पनि ल्याउन सक्दैनन् उनीहरू अनुत्तीर्ण हुन्छन्।
नतिजा सार्वजनिक भएसँगै समग्र शिक्षण विधिमाथि यसले प्रश्न उठाएको छ। अध्यापनमा संलग्न हुन इच्छुकहरूको शैक्षिक गुणस्तर बहसमा आएको छ। शिक्षक सेवा आयोगको नतिजाबारे शिक्षाविद् विद्यानाथ कोइरालाले सबैभन्दा कमजोर परीक्षार्थीले शिक्षा संकाय पढ्ने/पढाउने गर्दाको परिणाम भएको बताए। कम नम्बर पाउने शिक्षक हुने मानसिकताका कारण लाजलाग्दो नतिजा आएको उनको धारणा छ।
'एसइईमा पनि सबैभन्दा कम नम्बर ल्याउनेले शिक्षा संकाय रोज्ने गरेका छन्,’ उनले भने‚ ‘एसइईमा कम नम्बर ल्याए पनि प्लस टू पढाउँदा विशेष तरिकाले पढाएको भए हुन्थ्यो तर पढ्ने/पढाउनेमा लगनशीलता देखिएन।’
पढ्नमा भन्दा चोर्नमा ध्यान
आयोगले यसपाली लिएको परीक्षामा पाठ्यक्रम परिवर्तन गर्दै उत्तीर्णांक पनि ४० बाट बढाएर ५० पुर्याएको थियो। यस्तो नतिजा आउनुमा यसको समेत केही प्रभाव परेको हुनसक्छ। तर अहिले प्रवाह गरिएको विद्यालय र विश्वविद्यालय तहको शिक्षा नै कमजोर हुँदै जानु नै यसको मुख्य समस्या भएको जानकार बताउँछन्। परीक्षामा परीक्षार्थीमा अनुमति पत्रको लागि पनि किन पढ्ने? पास भइहालिन्छ, पास गर्दिहाल्छन् भन्ने गलत धारणा रहेको र हेलचेक्र्याइँ गर्दा लाजलाग्दो नतिजा आएको उनीहरूको बुझाइ देखियो।
शिक्षाविद् कोइराला पनि परीक्षार्थीमा हेलचेक्र्याइँ र चोर बाटोबाट उत्तीर्ण हुन खोज्ने प्रवृत्ति रहेको बताउँछन्। त्यसको प्रभाव नतिजामा देखिएको उनले बताए।
'मैले केही कपि चेक गर्ने साथीहरूसँग कुरा गरेको थिएँ,’ कोइरालाले भने‚ ‘विद्यार्थीले त कपीमा केही चिन्ह छोडेर उत्तरपुस्तिका जाँच गर्नेलाई फलानो चिन्हको मेरो कपी हो भनी प्रभाव पार्न खोज्दा रहेछन् तर यसपाली आयोगले त्यस्तो चिन्ह छोड्नेको उत्तरपुस्तिका नै ‘सर्टलिस्टिङ’ गरेर जाँच गर्न दिएनछ पढ्नभन्दा चोर्नमा बुद्धि गएपछि को पास हुन्छ?’
अध्येता देविराम आचार्य यस्तो नतिजा आउनुमा एकमात्र कारण नभएको बताउँछन्। शिक्षा संकायको भर्ना हुन पाउने आधार- सबैभन्दा कमजोर विद्यार्थीले शिक्षा विषय पढ्नु, ग्रामीण क्षेत्रमा कमजोर पूर्वाधार र तुलनात्मक रुपमा काम चलाउने गरी पठन पाठन हुनु, विषयवस्तु पर्याप्त नहुनु, शिक्षण विधि पर्याप्त नहुनु, पाठ्यक्रममा समस्या हुनु, पठनपाठन र परीक्षा प्रणालीमा समस्या भएकै कारण यस्तो नतिजा आएको आचार्यको ठम्याइ छ।
शिक्षण विधिमाथि नै प्रश्न
शिक्षाविद् कोइराला प्राथामिक तहदेखि उच्चशिक्षासम्म पढाउने शिक्षण विधि नै उपयुक्त नभएको बताउँछन्। ‘परीक्षार्थीले नेपालमा कति जातजाति छन् भनेर प्रश्न सोध्यो भने लेख्ने भए तर फरक जातिलाई कसरी पढाउनुहुन्छ भनेर प्रश्न सोध्यो भने लेख्न सक्दैनन्,' उनले भने‚ ‘विस्तृतमा विश्वविद्यालयमा पनि पढेको हुँदैन‚ त्यसरी पढाइएको पनि हुँदैन यस्तो नतिजा आउनुमा हाम्रो शिक्षण विधि नै उपयुक्त छैन भन्ने देखाउँछ।’
अध्येता आचार्यको भनाइ पनि उस्तै छ। ‘कति फेल र पास भए भनेर बहस गर्नुभन्दा पनि विश्वविद्यालयको शिक्षाशास्त्र संकायले के साँच्चिकै योग्य र दक्ष शिक्षक उत्पादन गरिरहेको छ भनेर बहस गर्न आवश्यक छ' उनले भने।
अनुमति पत्र लिने तरिका नै गलत
आयोगले अध्ययपन अनुमति पत्र लिदा शिक्षा संकाय नै पढेको हुनुपर्छ। तर शिक्षा संकाय नै पढेको हुनुपर्ने नियम नै गलत भएको शिक्षाविद्हरू बताउँछन्। यसमा सुधार गरेर जसले पढाउन सक्छ उसैलाई अनुमति दिने व्यवस्था गर्नुपर्ने उनीहरू बताउँछन्। शिक्षाविद् कोइराला पनि यसमा सहमत छन्।
आचार्य पनि शिक्षक अनुमति पत्र लिने तरिका नै परिवर्तन गर्नुपर्ने बताउँछन्। शिक्षण अध्यापन अनुमति पत्रको परीक्षण प्रणालीमा शिक्षण विधि र विषयवस्तुमात्र नभई शिक्षण सीप समेत परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
‘लोक सेवा अयोगले शाखा अधिकृत पदको परीक्षाका लागि जुनसुकै विषय अध्ययन गरेकाहरूबाट प्रारम्भिक परीक्षा लिएर उत्तीर्ण हुनेहरूलाई मात्र दोस्रो चरणको परीक्षामा सहभागी गराउँछ,’ आचार्यले भने, ‘यता पनि यही विधि अवलम्बन गरे गुणस्तरीय शिक्षक नियुक्ति हुने संभावना बढी हुन्छ।’
शिक्षविद्हरूका अनुसार अध्यापन अनुमति पत्रको आवश्यकता गणित, विज्ञान र अङ्ग्रेजीजस्ता विषयमा बढी हुन्छन्। तर प्रवेशिका परीक्षामा सबैभन्दा धेरै विद्यार्थी यिनै विषयमा अनुत्तीर्ण हुन्छन्। तीन विषयको लागि जुनसुकै संकाय अध्ययन गरेकालाई अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।