काठमाडौं– म्यान्चेस्टर युनाइटेड नर्विच सिटीलाई पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार एफए कपको छैटौं राउण्डको खेलमा नर्विच सिटीलाई थप गरिएको अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो। म्यान्चेस्टर युनाइटेडको जितमा ओडियन इघालो र ह्यारी मागुइरले गोल गरे। यता, नर्विच सिटीका लागि टोड कान्टवेलले गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको युनाइटेडले खेलको ५१औं मिनेटमा इघालोको गोलबाट अग्रता लिएको थियो। खेलको ७५औं मिनेटमा कान्टवेलले गोल गर्दै नर्विच सिटीलाई १–१ गोलको बराबरी दिलाए। खेलको ८९औं मिनेटमा टिम क्लोजले रातो कार्ड खाएसँगै नर्विच सिटी १० खेलाडीमा सीमित भएको थियो।
निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। एक सय १८ मिनेटमा मागुइरले म्यान्चेस्टर युनाइटेडलाई २–१ गेलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।