काठमाडौं- भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि नेपालमा पनि कलाकारको समस्यामाथि बहस शुरु भएको थियो। मुख्य त सुशान्तको आत्महत्याको कारण बलिउडमा झाँगिएको नातावाद रहेको भन्दै बहस शुरु भएपछि नेपालमा पनि मनोरञ्जन क्षेत्रमा रहेको नातावादबारे पनि बहस भयो।
अभिनेता पल शाहले भने अलि फरक प्रश्नहरु उठाएका छन्। नेपाली चलचित्र क्षेत्रमा रहेको समस्यालाई बुँदागत रुपमा चार प्रश्न बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले समस्याको समाधान खोजेर डिप्रेसनबाट जोगाउन आग्रह गरेका छन्।
उनले चार प्रश्नमा मुख्य रुपमा कलाकारको पारिश्रमिकको समस्यालाई उठाएका छन्। कलाकारले समयमा पाउनुपर्ने पारिश्रमिक नपाउने, आफूले काम गरेको फिल्मको पैसा लिन पनि निर्माता र निर्देशलाई हात जोड्नुपर्ने अवस्था रहेको विषयलाई राख्दै उनले प्रश्न गरेका छन्‚ ‘यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौँला भन्ने सोच गरेको कलाकारलाई त्यहि फिल्मको पैसा पाउन वर्षौ वर्ष कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला?'
अभिनेता पलले उठाएका चार प्रश्न
- के तपाईंले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नु भएको छ?
- के तपाईंले आफूले गरेको फिल्मको पैसा पाउन वर्षौ वर्षसम्म निर्देशक र निर्मातासँग दुई हात जोड्नु परेको छ?
- यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौँला भन्ने सोच गरेको कलाकारलाई त्यही फिल्मको पैसा पाउन वर्षौं बर्ष कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला?
- आफ्नो फिल्मको सम्झौताअनुसार निर्मातासँग भुक्तानी माग्दा 'यो हाम्रो फिल्मले सोचेको जस्तो व्यापार गरेन त्यसैले यो पैसा अहिले दिन सक्दिन म, यदि ५०% छुट गरिदिने भए गर नभए पछि बिस्तारै दिउँला भनेर २-३ वर्ष झुलाउँदा त्यो कलाकारको मन मस्तिस्कमा कस्तो सोच आउला?
र त्यही निर्माता भन्छ ‘हाम्रो नेपाली फिल्म क्षेत्रलाई बचाउनुछ, एकले अर्कोलाई सपोर्ट गरी अघि बढ्नुछ।'
हो, अब हामी सबैले सोच्नुपर्ने बेला आएको छ र त्यो व्यक्ति डिप्रेशनको सिकार हुनुभन्दा पहिले नै सबैको सामु यो कुरा राख्नुपर्ने जरुरी भएको छ र सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।