गाईघाट– अध्यक्ष, उपाध्यक्ष र सचिवले एकलौटी पार्टी चलाउन खोजेको भन्दै असन्तुष्टि बढेपछि नेकपा एमाले उदयपुरमा किचलो सुरु भएको छ।
पार्टीको सोमबारको नियमित बैठकले जिल्ला कमिटी र सचिवालयमा सदस्य मनोनीत गरेको विषयमा किचलो सुरु भएको हो। बैठकले २८ जना नयाँ अनुहारलाई जिल्ला कमिटीमा र जिल्ला कमिटीका केहीलाई सचिवालयमा मनोनीत गरेको छ।
विभिन्न स्थानीय तहबाट जिल्ला कमिटी सदस्यका लागि सिफारिस भई आएका नाम बैठकमा पेस भएको थियो। अध्यक्ष ईश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की र सचिव परमेश्वर घिमिरेले प्रस्ताव गरेका नाममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी समेतको समर्थन छ। तर, सचिवालय सदस्य खड्ग परियार लगायतका असन्तुष्ट पक्षले विधिविधान र प्रक्रिया मिचेर एकलौटी ढंगबाट निर्णय भएको भन्दै असन्तुष्टि जनाएका छन्।
विधानविपरीत र गणपूरक संख्या नै नपुगी जिल्ला कमिटीमा सदस्य मनोनय गरेको परियारले आरोप लगाए। परियारका अनुसार उदयपुरमा ७६ जनाको जिल्ला कमिटी छ। एक जना सदस्यको निधन भएकाले गणपूरक संख्याका लागि ३८ जना सदस्य बैठकमा उपस्थित हुनुपर्छ। तर, त्यति सदस्य उपस्थित नै नभएको बैठकले हतारमा सदस्य मनोनयन गर्नु आश्चर्यजनक भएको उनले बताए।
‘बैठकमा गणपूरक संख्या नै नपुगी निर्णय गर्न खोजेपछि मैले नोट अफ डिसेन्ट लेख्दै बैठक बहिस्कार गरे,’ परियारले भने, ‘अर्को बैठकमा यो विषय गम्भीरतापूर्वक उठाइन्छ।’
केही सदस्यहरुले भने एकलौटी ढंगले गरिएको निर्णयविरुद्ध आयोगमा उजुरी गर्ने र समानान्तर कमिटी बनाउनेसम्मको चेतावनी दिएका छन्। ‘एमाले–माओवादीबीच एकता हुन लागेको बेला भोल्युम ठूलो देखाउन यस्तो गरिएको हो,’ एक सदस्यले भने, ‘सिस्टम मिचेर सुरु गरिएको यो परिपाटीले कसैको भलो गर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।