काठमाडौं– नागरिकता विधेयकमा सहमति खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बिनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्री ओलीले वैवाहिक अंगिकृत नागरिकतामा सहमति खोज्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुलाई छलफलका लागि बिहीबार साँझ बालुवाटार बोलाएका थिए।
बैठकमा प्रधानमन्त्री ओलीसहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल,महासचिव विष्णु पौडल सहभागी थिए। कांग्रेसका तर्फबाट नेताहरु कृष्णप्रसाद सिटौला, डा मिनेन्द्र रिजाल र ज्ञानेन्द्र बहादुर कार्की छलफलमा सहभागी भएका थिए। राज्य व्यवस्था समिति सभापति शशि श्रेष्ठलाई पनि बैठकमा बोलाइएको थियो।
बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार अंगिकृत वैवाहिक नागरिकता विधेयकलाई सहमतिमै सदनमा पठाउनेबारेमा छलफल भएको बताए। उनका अनुसार बैठकले निर्णय निकाल्न भने सकेन।
नेपाली कांग्रेसले पार्टीको शीर्ष तहको बैठक बोलाएर नागरिकता ऐन २०६३ कै प्रावधानमा अडिग रहने निर्णय गरिसकेको छ। विदेशबाट विवाह गरी नेपाल आएकी महिलालाई समयावधि नराखी नागरिकता दिन सकिने प्रावधान उक्त ऐनमा छ।
बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सहमतिमै नागरिकता विधेयक टुंगाउन सरकारले समय मागेपछि आइतबारसम्मको लागि समय दिइएको थियो। विदेशबाट विवाह गरी आएकी महिलालाई नागरिकता प्रदान गर्न सात वर्षे समयावधि राख्नु नपर्ने पक्षमा नेपाली कांग्रेस छ। नागरिकताको विषय गम्भीर भएकाले राजनीतिक तहमा सहमति खोजेपछि मात्रै समितिबाट निर्णय गराउने सरकारले चाहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।