काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले ओसासुनामाथि फराकिलो गोलअन्तरले पराजित गरेको छ। बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले ओसासुनामाथि ५–० गोलले पराजित गरेको हो। एथ्लेटिको मड्रिडको जितमा योआओ फेलिक्सले २, मार्कोस लोरेन्टे, अल्भारो मोरटा र यानिक कारस्कोले समान १–१ गोल गरे।
खेलको २७औं मिनेटमा फेलिक्सले गोल गर्दै पहिलो हाफसम्म एथ्लेटिको मड्रिडलाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको ५६औं मिनेटमा फेरि अर्को गोल गर्दै उनले २–० गोलको अग्रता दिलाए।
खेलको ७९औं मिनेटमा लोरेन्टेले गोल गर्दा ८२औं मिनेटमा मोरटाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई ४–० गोलको अग्रतामा पुर्याए। खेलको ८८औं मिनेटमा कारस्कोले गोल गरेपछि एथ्लेटिको मड्रिड ५–० गोलले विजयी भएको हो।
जितपछि एथ्लेटिको मड्रिड २९ खेलबाट ४९ अंक सहित चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट ३५ अंक बनाएको ओसासुना भने लिगको ११औं स्थानमा छ। लिगको शीर्ष स्थानमा बार्सिलोना रहँदा दोस्रो स्थानमा रियल मड्रिड र तेस्रो स्थानमा सेभिया छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।