काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले आर्सनललाई पराजित गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) को कारण स्थगित भएको लिग पुनः सुरु भएको दिन सिटीले आर्सनललाई ३–० ले हराएको हो। सिटीलाई जिताउन रहिम स्टर्लिङ, केभिन डी ब्रुयन र फिल फोडेनले गोल गरे।
पहिलो हाफको अतिरिक्त समयमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलअन्तरले पछि परेको आर्सनल खेलको ४९औं मिनेटमा १० खेलाडीमा सीमित बन्यो। डेविड लुइजले रातो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए।
खेलको ५१औं मिनेटमा पेनाल्टीबाट ब्रुयनले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाएका थिए। खेलको अतिरिक्त समयमा फोडेनले गोल गरेपछि म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० गोलअन्तरले पराजित गरेको हो।
बुधबार राति नै भएको अर्को खेलमा एष्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
दोस्रो स्थानमा रहेको सिटीको जितपछि २९ खेलबाट ६० अंक छ। पराजित आर्सनलको भने समान खेलबाट ४० अंक छ। लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ। लिभरपुलको २९ खेलबाट ८२ अंक छ। तेस्रो स्थानमा भने लेस्टर सिटी छ। उसको ५३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।